
काठमाडौं । हरेक वर्ष बालबालिकासहित लगभग ६ लाख मानिसलाई मार्ने पोथी लामखुट्टेले मानिसको रगत चुस्दा मलेरियाका परजीवीहरू फैलिन्छन् । हालसम्म अभ्यासमा रहेको उपचार पद्धतिमा लामखुट्टेलाई मलेरिया नलाग्ने बनाउनुको सट्टा कीटनाक औषधि प्रयोग गरेर मार्ने अभ्यास छ । तर, हार्वर्ड विश्वविद्यालयको एक टिमले दुईवटा औषधि पत्ता लगाएका छन्, जुन लामखुट्टेले चुस्दा उसलाई मलेरियामुक्त बनाउन सक्छ । यसका लागि यी औषधिहरूको लेप झुलमा लगाएर यसलाई रोकथाम प्राप्त गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ ।
झुलभित्र सुत्नु मलेरिया रोकथामको सबैभन्दा सफल तरिकाहरूमध्ये एक हो किनभने मुख्य मलेरिया फैलाउने लामखुट्टेहरू राति सक्रिय हुन्छन् । उच्च जोखिम भएका मलेरिया क्षेत्रमा बस्ने बच्चाहरूका लागि पनि खोप लगाउन सिफारिस गरिएको छ ।
झुलले भौतिक अवरोधको काम गर्नुका साथै किटनाशकयुक्त हुन्छन्, जसले लामखुट्टेलाई मार्छ । तर, धेरै देशहरूमा लामखुट्टेहरूले किटनाशक प्रतिरोध गर्ने क्षमता विकास गरिसकेका छन् जसले गर्दा यी रसायनहरूले पहिले जस्तो प्रभावकारी रूपमा अहिले लामखुट्टेहरूलाई मार्न सक्दैनन् ।
हार्वर्ड विश्वविद्यालयका शोधकर्ता डा. एलेक्जेन्ड्रा प्रोब्स्ट भन्छिन्, “हामीले यसअघि सिधै लामखुट्टेभित्रका परजीवीलाई मार्ने प्रयास गरेनौँ किनभने हामी सोझै लामखुट्टेलाई मार्थ्यौं । तर अब यो प्रभावकारी छैन ।”
शोधकर्ताहरूले लामखुट्टले संक्रमित गर्दा मलेरिया परजीवीको डीएनए विश्लेषण गरेर कमजोरीहरू पत्ता लगाए । उनीहरूले सम्भावित औषधिहरूको ठूलो संग्रहबाट २२ वटा औषधि छनोट गरे र पोथी लामखुट्टेलाई मलेरिया संक्रमित रगत खुवाएर यसको परीक्षण गरे ।
नेचर पत्रिकामा प्रकाशित आफ्नो लेखमा वैज्ञानिकहरूले दुई अत्यन्त प्रभावकारी औषधिहरूको वर्णन गरेका छन् जसले १०० प्रतिशत परजीवीहरू नष्ट गर्यो । यी औषधिहरू झुलजस्तै सामग्रीमा परीक्षण गरिएको थियो ।
डा. प्रोब्स्टले भन्छिन्, “यदि लामखुट्टेले झुलमा लगाएको औषधिको लेपलाई नचुसेर बाँचे पनि यसभित्रका परजीवीहरू मारिन्छन् र यसले मलेरिया फैलाउन सक्दैन । मलाई लाग्छ यो एक उत्साहजनक प्रक्रिया हो किनभने यो लामखुट्टेमाथि नै आक्रमण गर्ने एउटा नयाँ तरिका हो ।”
मलेरियाका परजीवीले यी औषधिहरूप्रतिको प्रतिरोधकता विकास गर्न गाह्रो हुने उनले बताइन् । किनभने प्रत्येक संक्रमित व्यक्तिमा अरबौँ परजीवी हुन्छन् तर प्रत्येक लामखुट्टेमा पाँचभन्दा कम मात्र हुनेछ ।
शोधकर्ताहरूका अनुसार, यी औषधिहरूको प्रभाव झुलमा एक वर्षसम्म रहन्छ, जसले गर्दा यो किटनाशकको विकल्पको रूपमा सस्तो र दीर्घकालीन समाधान हुन सक्छ ।
यो प्रयोग प्रयोगशालामा सफल भएको छ । अर्को चरणको परीक्षण इथियोपियामा गरिने योजना छ । जहाँ मलेरियाविरोधी झुलहरू वास्तविक संसारमा प्रभावकारी छन् वा छैन भन्ने जाँच गरिनेछ ।
यो नतिजाले काम गर्छ कि गर्दैन भन्ने निष्कर्ष निकाल्न सम्पूर्ण अध्ययन पूरा हुन कम्तीमा ६ वर्ष लाग्नेछ । तर, दृष्टिकोण भनेको झुललाई मलेरियाविरोधी औषधि र किटनाशक दुवैले उपचार गर्ने हो ताकी एक तरिकाले काम नगरेमा अर्कोले काम गर्न सकोस् । बीबीसी