
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यहाँको हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार खोस्ने योजनालाई अदालतले अस्थायी रूपमा रोक लगाएको छ ।
ट्रम्प प्रशासनको विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार खोस्ने योजनाविरुद्ध हार्वर्डले मुद्दा दायर गरेपछि अदालतको यो आदेश आएको हो । यो ह्वाइट हाउस र अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबीचको विवादको पछिल्लो उत्कर्षविन्दु हो ।
विश्वविद्यालयले ट्रम्प प्रशासनको अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्न प्रतिबन्ध लगाउने निर्णय कानुन र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको बताएको छ ।
ट्रम्प प्रशासनले हार्वर्डले यहूदीविरोधी विचारलाई प्रश्रय दिएको र यसको भर्ना प्रक्रिया परिवर्तन गर्न पर्याप्त काम नगरेको आरोप लगाएको छ । तर, यस्ता आरोपहरूलाई विश्वविद्यालयले कडाइले अस्वीकार गरेको छ ।
अमेरिकी जिल्ला न्यायाधीश एलिसन ब्युरोजले शुक्रबार जारी एक संक्षिप्त फैसलामा अस्थायी रोक आदेश जारी गरेकी हुन् ।
यो आदेशले गृहभूमि सुरक्षा विभागले बिहीबारको हार्वर्डको विद्यार्थी र एक्सचेन्ज भिजिटर प्रोग्राम र विदेशी विद्यार्थीहरू व्यवस्थापन गर्ने सरकारी डाटाबेसमा पहुँच रद्द गर्ने कदमलाई रोक लगाएको छ ।
यो मुद्दाको अर्को सुनवाइ मे २९ मा बोस्टनमा हुने बीबीसीले जनाएको छ ।