
काठमाडौं । उत्तर कोरियाले बुधबार नयाँ युद्धपोत शुभारम्भ गर्दा भएको दुर्घटनालाई लिएर तीनजना शिपयार्ड अधिकारीलाई हिरासतमा लिएको त्यहाँको राज्य मिडियाले जनाएको छ । पाँच हजार टनको युद्धपोतको तल्लो भाग शुभारम्भ समारोहमा खसेर जहाज असन्तुलित भएको थियो ।
उत्तर कोरियाली नेता किम जोङ उनले आपराधिक कार्य भनिएको यस घटनाको अनुसन्धान हालसम्म जारी रहेको बीबीसीले जनाएको छ ।
उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले हिरासतमा लिइएकाहरूमा उत्तरी चोङजिन शिपयार्डका प्रमुख इन्जिनियर, निर्माण प्रमुख र एक प्रशासनिक प्रबन्धक रहेका छन् जहाँ यो युद्धपोत निर्माण भएको थियो ।
पक्राउ परेका तीनजना दुर्घटनाको लागि जिम्मेवार भएको समाचारमा उल्लेख छ । समाचार संस्था केसीएनएले शिपयार्ड प्रबन्धक होङ किल होलाई कानुन अधिकारीहरूले बयान दिन बोलाएको बताएको थियो ।
उपग्रहमार्फत देखिएको तस्बिरहरूमा जहाज एकतिर ढल्किएर एउटा ठूला निलो तरपोलिनले ढाकिएको देखिन्थ्यो भने सो जहाजको एक भाग जमिनमा छोएको देखिएको थियो ।
उत्तर कोरियाको राज्य मिडियाले उक्त समयमा कुनै पनि ज्यान गएको वा चोट लागेको विषयमा केही उल्लेख गरेको थिएन ।
प्रारम्भिक समाचारहरूले उल्लेख गरेविपरीत केसीएनएले जहाजको तल्लो भागमा कुनै पनि प्वाल नभएको बताएको छ ।
किमले यो दुर्घटना लापरबाही, उत्तर दायित्वको अभाव र वैज्ञानिक अनुभवको कमीको कारणले भएको बताए । पक्राउ परेकाहरूले कस्तो सजाय पाउनेछन् भन्ने विषय स्पष्ट नभएको बताइएको छ ।