site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एसियामा कोभिड–१९ को नयाँ लहरको आशंका : भारत र चीनसहित यी देशमा केस बढ्दै

काठमाडौं ।  एसियाका भारतलगायत सिंगापुर, हङकङ, थाइल्यान्ड र चीनमा कोभिड–१९ को नयाँ लहर देखा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतको महाराष्ट्र राज्यको ठाणे नगर निगमका अनुसार, शनिबार राज्यको कालवास्थित छत्रपती शिवाजी महाराज अस्पतालमा एक २१ वर्षीय युवकको कोभिड–१९ बाट मृत्यु भएको छ । गम्भीर मधुमेह भएको युवकलाई बिहीबार मधुमेहसम्बन्धी जटिलताका कारण अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार राति उनको कोभिड–१९ परीक्षण पोजिटिभ आएको थियो ।

महाराष्ट्र राज्यले शनिबार कोभिड–१९ का ४७ नयाँ केस दर्ता गरेको जनाउँदै सक्रिय संक्रमितहरूको कुल संख्या १६६ पुगेको इन्डिया टुडेले बताएको छ ।

Argakhachi Cement Island Ad

महाराष्ट्र राज्यमा कोभिड–१९ ले गर्दा चारजनाको मृत्यु भएको र  चारैजनामा अन्य स्वास्थ्य समस्याहरू र कोभिड–१९ को हल्का लक्षणहरू रहेको बताइएको छ । अन्य तीन मृत्युमध्ये एकलाई नेफ्रोटिक सिन्ड्रोम थियो भने अर्को एकजना क्यान्सरको उपचारमा थियो । तेस्रो रोगीलाई मस्तिष्क स्ट्रोक भएको थियो ।

महाराष्ट्र राज्यमा देखिएको ४७ नयाँ संक्रमणका केसहरूमध्ये ३० मात्र मुम्बईमा देखिएका छन् ।  जनवरीयता राज्यमा कुल सात हजार १४४ मा कोभिड–१९ पोजिटिभ पाइएका समाचारमा उल्लेख छ ।

यसैबीच, कोभिड–१९ संक्रमणका केसहरू पूरै भारतमा बढ्दै गएका इन्डिया टुडेले जनाएको छ । जसमा केरला राज्यमा २७३ कोभिड–१९ संक्रमणका केस देखा परेको भन्दै देशमै सबैभन्दा धेरै केस दर्ता भएको बताइएको छ । त्यसपछि तमिलनाडु र महाराष्ट्र राज्यमा कोभिड–१९ संक्रमणका  केसहरू दर्ता भएका छन् । दिल्लीमा पनि कोभिड–१९ संक्रमणका नयाँ केसहरूमा केही वृद्धि देखिएको  समाचारमा बताइएको छ । यहाँ हालसम्म २३ केस दर्ता भएका बताइएको छ ।

कोभिड–१९ का केस बढ्दै जाँदा भारतमा सतर्कता
भारतका विभिन्न राज्यहरूमा कोभिड–१९ संक्रमणका केसहरूमा वृद्धि देखिएपछि केन्द्रीय स्वास्थ्य मन्त्रालयले एक सल्लाह जारी गरेको छ ।

नागरिकहरूलाई नडराउन आग्रह गरिएको छ । मन्त्रालयका अनुसार, रिपोर्ट भएका धेरैजसो केस सामान्य भएको र उनीहरूको घरमै उपचार भइरहेका बताएको छ । मन्त्रालयले हाल देखिएका भेरियन्टहरूले पहिलाको भन्दा बढी संक्रमण नबढाएको दाबी गरेको छ ।

हङकङमा पोजिटिभ परीक्षणको सबैभन्दा उच्च
हङकङमा कोभिड–१९ को संक्रमण बढेको बताइएको द नेशन अनलाइनले जनाएको छ । त्यहाँको स्वास्थ्य सुरक्षा केन्द्र (सीएचपी)ले श्वासप्रश्वास नमुनाहरूमा पोजिटिभ परीक्षणको दर एक वर्षभन्दा धेरै समयमा सबैभन्दा उच्चस्तरमा पुगेको बताएको छ ।

मे महिनाको सुरुमा जारी गरेको तथ्यांकअनुसार, गम्भीर कोभिड–१९ का ३१ केस दर्ता भएका थिए जुन पछिल्लो १२ महिनाको उच्चतम हो ।

यस नयाँ लहरले स्वास्थ्य प्रणाली मात्र होइन, मनोरञ्जन उद्योगलाई पनि असर पारेको बताइएको छ । हङकङका प्रख्यात गायक इसन चानले कोभिड–१९ ले संक्रमित भएपछि ताइवानमा आयोजना हुने उनको कन्सर्ट रद्द गरेका छन् ।

सिंगापुरमा पनि केस बढे
सिंगापुरको स्वास्थ्य मन्त्रालयले मे महिनाको सुरुमा जारी गरेको तथ्यांकअनुसार कोभिड–१९ का लगभग १४ हजार २०० संक्रमणका केस दर्ता भएको बताएको छ । यो अघिल्लो साताको तुलनामा २८ प्रतिशतले बढी रहेका समाचारमा उल्लेख छ । यसै अवधिमा कोभिड–१९ ले अस्पताल भर्ना हुने रोगीहरूको संख्या पनि ३० प्रतिशतले बढेको छ । संक्रमणका केस बढेको भए पनि सिंगापुरमा कुनै नयाँ र गम्भीर भेरियन्ट फेला नपरेको बताइएको छ ।

चीन र थाइल्यान्डमा पनि उस्तै
चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्र (चाइना सीडीसी)ले मे ४ मेसम्मको पाँच हप्तामा अस्पतालहरूमा कोभिड–१९ पोजिटिभ परीक्षणको दर दोब्बरभन्दा बढी बढेको बताएको छ । चीनमा अघिल्लो गर्मीमा भएजस्तै नयाँ लहरमा प्रवेश गर्न सक्ने भन्दै यो चिन्ताको संकेत रहेको समाचारमा उल्लेख छ ।

थाइल्यान्डमा, अप्रिलमा मनाइएको थाइ नयाँ वर्षपछि कोभिड–१९ संक्रमणका केसहरू फेरि बढेको देखिएको छ । यो पर्वमा ठूला सामूहिक सभा भएकोले यसले संक्रमण बढाउन मद्दत गरेको समाचारमा उल्लेख छ । यस वर्षको केही महिनाभित्रै देशले दुईपटक ठूलो प्रकोप अनुभव गरिसकेको रोग नियन्त्रण विभागले पुष्टि गरेको बताएको छ । जसका कारण  थाइ स्वास्थ्य नियमन निकायहरूले विशेष गरी उच्च जोखिम समूहमा परेका व्यक्तिहरूलाई तत्काल बुस्टर खोप लगाउन आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्