
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध गुजरात टाइटन्सले १० विकेटको प्रभावशाली जित निकालेसँगै तीन टिमले प्लेअफमा स्थान सुरक्षित गरेका छन् । यो जितसँगै गुजरातले प्लेअफ यात्रा तय गर्दा रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किंग्सले पनि शीर्ष चारमा आफ्नो स्थान सुरक्षित गरे ।
आइतबार दिल्लीमा घरेलु टिमले प्रस्तुत गरेको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमा विकेट नगुमाई पूरा गर्यो । गुजरातको जितमा ओपनर साई सुदर्शनले सर्वाधिक १०८ रन बनाए । उनले ६१ बलमा १२ चौका र चार छक्का प्रहार गरे । अर्का ओपनर शुभमन गिलले ५३ बलमा तीन चौका र सात छक्कासहित अविजित ९३ रन थपे ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९९ रन बनाएको थियो । दिल्लीका ओपनर केएल राहुलले सर्वाधिक ११२ रनको शतकीय इनिङ खेले । राहुलले ६५ बलमा १४ चौका र चार छक्का प्रहार गरे । अभिषेक पोरेलले ३०, कप्तान अक्षर पटेलले २५ र ट्रिस्टन स्टुब्सले २१ रन जोडे ।
गुजरातका अरशद खान, प्रशिद्ध कृष्णा र साई किशोरले समान एक विकेट लिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको गुजरातले १२ खेलबाट १८ अंक जोडेको छ । गुजरातसँगै प्लेअफमा स्थान सुरक्षित गरेका बेंगलुरु र पञ्जाब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । समान खेलबाट बेंगलुरुले १७ अंक जोडेको छ । पञ्जाबको पनि १७ अंक नै छ ।
प्रतियोगितामा यसअघि नै प्लेअफ समीकरणबाट बाहिरिने चार टिमको टुंगो लागिसकेको छ । हालसम्म प्लेअफ समीकरणबाट बाहिरिनेमा चेन्नाई सुपर किंग्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स छन् । अब प्लेअफको अन्तिम एक स्थाननिम्ति मुम्बई इन्डियन्स, दिल्ली र लखनऊ सुपर जायन्टबीच प्रतिस्पर्धा हुनेछ ।