site stats
बाह्रखरी :: Baahrakhari
खेल
घरेलु फुटबलबाट रोशनको ‘भावुक’ बिदाइ

काठमाडौं । रेफ्रीले खेल समाप्तिको ह्विसिल बजाउनासाथ रोशन खड्का भावुक बने । उनका आँखा आँसुले भरियो । अनुहारमा मलिनता प्रस्ट थियो । मैदानबाट बाहिर निस्किनुअघि ढोगे पनि । श्रीकुमारी क्लबका खेलाडीले उनलाई ‘गार्ड अफ अनर’साथ मैदानबाहिर ल्याए । यो दृष्य थियो, सहिद स्मारक ‘बी’ डिभिजन लिगको क्लबबाट गोलकिपरको भूमिका निभाएका रोशनले सन्न्यास लिँदाको ।

शीर्ष डिभिजनको नेपाल पुलिस क्लबका पूर्वगोलकिपर समेत रहेका रोशन लिग सुरु हुनुअघिसम्म वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा कार्यरत थिए । लिगकै निम्ति कुमारीले बोलाएपछि आफ्नो फुटबल लगाव पछ्याउँदै उनी नेपाल ओर्लिए । 

‘बी’ डिभिजन लिगमा रोशनको यो पहिलो अनुभव हो । विभागीय टोलीबाट यसअघि ‘ए’ डिभिजन लिग खेले पनि रोशनसँग दोस्रो र तेस्रो डिभिजनको अनुभव थिएन । यही कारण ‘बी’ डिभिजन लिगमा रोशनको पहिलोपटकको अनुभव पृथक् र विशेष बन्यो ।

सोमबार (जेठ ५) लिगअन्तर्गत उनी त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा श्रीकुमारीको पोस्टमा उभिइरहेका थिए । युवा खेलाडीलाई आफ्नो अनुभवानुसार निर्देशन पनि दिइरहेका थिए । ९०औँ मिनेटमा खेलका फोर्थ अफिसियल निश्चिल गुरुङले पाँच मिनेट थपिएको संकेत गरे । खेल सकिएपछि रोशनले फुटबलबाट टाढिनुपर्दाको दुःख लुकाउन सकेनन् । उनका निम्ति पहिलो ‘बी’ डिभिजन लिग घरेलु फुटबल करियरकै अन्तिम बन्न पुग्यो ।

“नेपाली माहोलमा नेपाली फुटबल कस्तो छ भन्ने समग्रमा चिनियो । अहिले जति पनि पलायन भएका छन्, सबै फुटबल नभएर हो । म पनि फुटबलबाट पलायन भएर गएँ, तर अझै पनि यहाँको फुटबल वातावरण राम्रो छैन,” उनले भने ।

घरेलु फुटबलको अन्तिम खेलपछि उनले नेपाली फुटबलको अभिभावक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)प्रति प्रश्न तेर्स्याउँदै जवाफदेहिता खोजे, “अहिले आउँदा पनि फुटबल उस्तै छ । मैले भन्न खोजेको खोइ त फुटबल ? ‘ए’ डिभिजन लिग खोइ ?”

यस संस्करणमा उनले कुमारीबाट कुल ११ खेल खेले । उनले यसअघि नौ वर्ष पुलिस र शीर्ष डिभिजन लिगकै अर्को क्लब फ्रेन्ड्सबाट पनि खेलेका थिए । उनले नेपाली फुटबलमा एक दशकभन्दा लामो समय बिताए । 

उनको फुटबल करियर विभागीय टोलीबाट सुरु भएको भने होइन । धरान फुटबल क्लब (डीएमएमसी)बाट उनले फुटबल करियर थालेका थिए ।

३२ वर्षको उमेरमा सन्न्यास लिएका उनले जाँदाजाँदै एन्फामाथि प्रश्न राखे । खेलाडीको पीडा सुनाए ।

‘‘मान्छेलाई पारिवारिक समस्या पर्न सक्छ । पैसाको आवश्यकता पर्छ । फुटबलमा लगाव भए पनि पैसा नहुँदा परिवारको कारणले खेलाडीहरू बाहिरिइरहेका छन् । म पनि यही कारणले गएको थिएँ,’’ सञ्चारकर्मीसँग रोशनले भने ।

उनले अगाडि भने, ‘‘अहिले यू–टर्न हुँदा पनि फुटबल छैन । सन्न्यासका लागि अहिले उपयुक्त समय हो जस्तो लाग्यो । यो संस्करण यसपटक भयो, भोलि होला नहोला । त्यसैले मैले सन्न्यास लिने निर्णय गरेँ ।’’

‘बी’ डिभिजन लिगमा ११ खेल खेल्दा उनी सधैँ कुमारीको पहिलो रोजाइमा मैदानमा उत्रिए । उनले तीमध्ये सात खेलमा १५ गोल व्यहोर्दा चारमा ‘क्लिन सिट’ राखे । उनले बाँसबारी क्लब, नयाँबस्ती युथ क्लब, झापा फुटबल क्लब र सरस्वती युथ क्लबविरुद्धको खेलमा ‘क्लिन सिट’ राखेका हुन् ।

फुटबलबाट खेलाडीका रूपमा बुट झुन्ड्याउने निर्णय लिए पनि यसबाट टाढा बस्ने मनसाय रोशनको छैन । उनी आउँदा दिनमा खेलाडी उत्पादनमा सहयोगी भूमिका निर्वाह गर्ने योजनामा छन् । 

‘‘मेरो अबको कदममा खेलाडी उत्पादन कसरी गर्ने, एकेडेमी कस्तो हुन्छ भन्नेतर्फ हुन्छ । खेलाडी उत्पादनको लागि म अगाडि बढ्छु । म नेपालमै रहेर वा विदेश गए पनि बाहिरबाटै भए पनि फुटबलमा सहयोग गर्छु ।  अब आउने खेलाडीहरूले उचित अवसर र स्थान पाऊन् भन्ने चाहना छ,’’ रोशनले योजना सुनाए ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्