
काठमाडौं । श्री भगवती क्लब टोखा शीर्ष डिभिजन लिगमा बढुवा हुने दोस्रो टोली बनेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा ब्वाइज युनियनविरुद्ध २–१ को जित निकाल्दै भगवती दोस्रो टोलीका रूपमा शीर्ष डिभिजनमा बढुवा भएको हो ।
यो नतिजासँग भगवती एक खेलअगावै सहिद स्मारक ‘बी’ डिभिजनबाट शीर्ष डिभिजनमा बढुवा भएको हो । जितसँगै भगवतीले तीन अंक जोड्दै १२ खेलमा सात जित र पाँच बराबरीबाट २६ अंक जोडेको हो । अब टोलीले अन्तिम खेलमा सरस्वती क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
भगवतीको जितमा टोलीका शिशिर लेखी र अजित लामाले समान एक गोल फर्काए । जवाफमा ब्वाइज युनियनका सञ्जीव लामाले एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् । भगवतीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको छैटौँ मिनेटमा भगवतीका शिशिरले गोल गर्दे अग्रता दिलाए । ३८औँ मिनेटमा अजितले टोलीको अग्रतालाई दोब्बर बनाए ।
खेलको ७९औँ मिनेटमा ब्वाइज युनियनका सञ्जीवले टोलीका निम्ति एक गोल फर्काए पनि खेलमा फर्कन पर्याप्त थिएन ।