
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको पहिलो दिन पूर्वनम्बर एक गल्फर शुक्रबहादुर राई र भुवनकुमार रोक्का संयुक्त रूपमा शीर्ष स्थानमा रहन सफल भएका छन् ।
पार–६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले मंगलबार (जेठ ६) ७–अन्डर ६१ को उत्कृष्ट स्कोर बनाए । उनीहरूले दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे ।
तेस्रो स्थानमा रहेका दिनेशले ४–अन्डर ६४ को स्कोर जोडे । नेपाल नम्बर एक भुवन नगरकोटी ३–अन्डर ६५ सहित चौथो र रामे मगर २–अन्डर ६६ को स्कोरमा पाँचौँ स्थानमा छन् । १–अन्डर ६७ को स्कोरमा प्रदीपकुमार लामा, दीपक मगर, निरज तामाङ, जयराम श्रेष्ठ र साबिक विजेता रवि खड्काले संयुक्त रूपमा छैटौँ स्थान बाँडे ।
चोटमुक्त भएर करिब दुई वर्षपछि घरेलु टुरमा फर्किएका शुक्रले सानदार पुनरागमन गरे । बोगीरहित कार्ड बनाउने क्रममा उनले तेस्रो र चौथो होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । ब्याक नाइनमा सानदार प्रदर्शनका साथ १०औँ र ११औँ तथा यसपछि १३औँदेखि १५औँ होलमा लगातार तीन बर्डी प्रहार गरे । कुल ५ बर्डीले ब्याक नाइन ५–अन्डर २९ मा पूरा गरे ।
भुवनकुमार रोक्काले प्रभावशाली प्रदर्शनका साथ फ्रन्ट नाइनमा ५–अन्डर २९ को नतिजा निकाले । उनले पहिलो, चौथो, छैटौँ, सातौँ र आठौँ होलमा बर्डीको सफलता पाए । यसपछि १०औँ, १३औँ र १४औँ होलमा एक/एक सट बचाए । १६औँ होलको बोगीले ब्याक नाइन २–अन्डर ३२ मा पूरा गरे ।
एमेच्योरतर्फ फुन्सोक नोर्बु लामा र राहुल विश्वकर्मा इभन–पार ६८ को स्कोरमा संयुक्त रूपमा शीर्ष स्थानमा छन् । उनीहरूले बलराम पौडेल र निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन् । बलराम र निश्चयले १–ओभर ६९ स्कोर गरे ।
७२ होलको चारदिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता छ । ३६ होलको समाप्तिमा कट लागु हुनेछ, जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलका निम्ति स्थान बनाउनेछन् ।
प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ छ । विजेताले एक लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमश ७० हजार र ५० हजार हात पार्नेछन् । शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । चार दिनको मुख्य स्पर्धापश्चात् शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ ।