
काठमाडौं । नेपालका तीन खेलाडी यूडब्लूडब्लू एसियन बेल्ट एलिस कुस्ती च्याम्पियनसिपमा सहभागिता जनाउन भारत जाने भएका छन् ।
मे २१ देखि २६ सम्म भारतको नयाँदिल्लीमा प्रतियोगिता हुँदै छ । प्रतियोगितामा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादवले सहभागिता जनाउने छन् । उनीहरूसहित पाँच सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ जानेछ ।
टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे । तीनै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सञ्चालन गरेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा छन् ।
प्रशिक्षकमा मुम्ताज अली इद्रिसी छन् । प्रतियोगिताका दौरान हुने दक्षिण एसियाली कुस्ती महासंघको बैठकमा सहभागी हुन राखेपका सदस्य तथा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी पनि टोलीसँगै भारत जाने छन् ।