site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालको स्वास्थ्य सेवामा सहकार्य गर्न विश्व समुदायलाई स्वास्थ्यमन्त्रीको आह्वान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्विट्जरल्यान्डको जेनेभामा जारी ७८औँ विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सबैमा स्वास्थ्य पहुँचका निम्ति विश्वव्यापी सहकार्यमा जोड दिएका छन् । 

यसमा विश्व स्वास्थ्य संगठनको भूमिका अझ महत्त्वपूर्ण देखिएको उनले बताए । नेपालले विद्यमान स्वास्थ्य चुनौती सामना गर्न नवीन समाधानको खोजी गरिरहेको उनले बताए । 

मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्वतयारीका लागि समतामूलक स्वास्थ्य सेवा र दह्रिलो विश्वव्यापी सहकार्य आवश्यक भन्दै महामारी नियन्त्रणका लागि संगठनले गरेको सम्झौताको स्वागत गरे । मन्त्री पौडेलले यसका लागि सदस्य राष्ट्रबीच बलियो सहकार्यका लागि आह्वान समेत गरे ।

मन्त्री प्रदीप पौडेलले नेपालले मातृ शिशु मृत्युदर न्यूनीकरण तथा पोलियो उन्मूलनमा प्राप्त गरेको सफलताबारे विश्व समुदायलाई जानकारी गराएका छन् । 

नेपालले खोपको पहुँच विस्तारमा समेत प्रगति गरेको उल्लेख गर्दै पोलियो उन्मुलनसँगै सबै तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको उल्लेख गरेका छन् । 

‘महिला सामाजिक स्वास्थ्य स्वयंसेविका तथा विद्यालय स्वास्थ्य कार्यक्रममार्फत सकारात्मक नतिजा प्राप्त गरेका छौँ,’ मन्त्री पौडेलले भने । सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा नेपालले पहल थालेको भन्दै मन्त्री पौडेलले यसले सकारात्मक नतिजा दिने विश्वास गरे । 

नेपालले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको चर्चा गर्दै उनले निरोधात्मक स्वास्थ्य सेवा, महामारी पूर्वतयारी तथा डिजिटल स्वास्थ्यमा समेत जोड दिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

नेपालसामु बढिरहेको वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाइसराइ तथा नसर्ने रोग र मानसिक रोगजस्ता स्वास्थ्य चुनौती खडा भएकाले यसको सामनाका लागि विश्व समुदायसँग सहकार्यका लागि उनले आग्रह गरे । 

७८औँ विश्व स्वास्थ्य सम्मेलनमा मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण समेत नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको प्रसंग उठाएका थिए । “जलवायु परिवर्तनका कारण हाम्रो स्वास्थ्य क्षेत्रमा गम्भीर असर छ,” उनले भने, “हामीले सगरमाथा संवादका माध्यमबाट विश्वको ध्यानाकर्षण गर्‍यौँ ।” 

मन्त्री पौडेलले जलवायु स्वास्थ्य विषयमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने समेत घोषणा गरे । 

जेनेभामा रहेका मन्त्री पौडेलले विभिन्न देशका उच्चस्तरीय स्वास्थ्य अधिकारीसँग नेपालको स्वास्थ्य सेवा सुधारबारे सहकार्यको प्रस्ताव गर्दै वार्ता गरिरहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्