
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सार्वजनिक लेखा समितिको प्रतिवेदनमाथिको छलफलमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कडा टिप्पणी गरेका छन् । उनले परियोजनामा ठूला आर्थिक अनियमितता भएको दाबी गर्दै प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन माग गरेका छन्।
“पोखरा विमानस्थल र एमसीसी फरक कुरा हो,” सिंहले स्पष्ट पारे, “एमसीसी त अनुदान हो, तर पोखराको आयोजनामा मात्रै ८४ करोड ब्याज तिर्नुपर्ने स्थिति छ ।”
उनले सरकारी समाचारपत्र गोरखापत्रको भूमिकामाथि समेत प्रश्न उठाउँदै भने, “गोरखापत्रले पैसा पाएपछि जे पनि छाप्ने ? सूचना छापेर संसदीय समितिको मानमर्दन गर्ने काम भयो ।”
सिंहले भ्रष्टाचारविरुद्ध लेखा समितिले कठोर भूमिका लिनुपर्नेमा जोड दिँदै भने, “भ्रष्टाचारको मामिलामा समिति निर्मम बन्नुपर्छ । यो रिपोर्ट जस्ताको तस्तै अख्तियार पठाइनुपर्छ ।”
उनको भनाइमा, यति ठूलो लागतमा बनेको विमानस्थलमा भएको अपारदर्शिता र अनियमितताको जिम्मेवारी निर्धारण गर्न ढिला गर्नु राष्ट्रघात हो । “अब ढिलो नगरी प्रतिवेदन कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने बेला आएको छ,” उनले जोड दिए ।