site stats
बाह्रखरी :: Baahrakhari
विदेश
'शत्रुलाई पराजित गरेपछि' पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सलमा बढुवा

काठमाडौं । पाकिस्तानका सेना प्रमुख जनरल आसिम मुनीर फिल्ड मार्सल पदमा बढुवा भएका छन् । करिब ६० वर्षमा पहिलोपटक कुनै जनरल फिल्ड मार्सल पदमा बढुवा भएका हुन् ।

प्रधानमन्त्री शहबाज शरिफको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि उनको बढुवा भएको रोयटर्सले जनाएको छ ।

भारतसँग तीन दशकपछिको सबैभन्दा ठूलो सैन्य संघर्ष भएको केही दिनपछि पाकिस्तान सरकारले सेना प्रमुखको बढुवा गरेको हो ।

सेना प्रमुख मुनीरले राष्ट्रिय सुरक्षा सुनिश्चित गरेको र शत्रुलाई निर्णायकरूपमा पराजित गरेको प्रधानमन्त्रीको कार्यालयले बताएको छ । उनी रणनीतिक प्रतिभा र साहसी नेतृत्व भएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक सुरक्षा अधिकारीले फिल्ड मार्सल पदलाई पाँचतारे औपचारिक पद भनेर चिनाएका छन् । यसले प्राय: असाधारण नेतृत्व र युद्धकालीन उपलब्धिलाई जनाउँछ ।

"यो बढुवा सन् १९६५ मा पाकिस्तानी तानाशाह जनरल अयूब खानले आफैँलाई फिल्ड मार्सल बनाएपछि पहिलो हो," ती सुरक्षा अधिकारीले भने ।

उनको भनाइमा नयाँ औपचारिक पद प्राप्त गरे पनि मुनीर सेना प्रमुख नै रहनेछन् ।

यस्तै, मन्त्रिपरिषद्ले पाकिस्तान वायुसेना प्रमुख एयर मार्सल जाहिर अहमद बाबर सिद्धुको सेवा अवधि सकिएपछि पनि बढाउने निर्णय गरेको छ ।

रोयटर्सबाट ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्