site stats
बाह्रखरी :: Baahrakhari
खेल
जितसँगै च्यासलले टुंग्यायो ‘बी’ डिभिजन लिग

काठमाडौं । झापा फुटबल क्लबविरुद्ध जित निकाल्दै च्यासल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग टुंग्याएको छ । बुधबार च्यासलले लिगको अन्तिम खेलमा २–० को जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा च्यासललाई जित दिलाउन आशिष थारुले दुई गोल गरे । उनले पहिलो र दोस्रो हाफमा समान एक–एक गोल गरेका थिए ।

खेलको ३८औँ मिनेटमा आशिषले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ७५औँ मिनेटमा आशिषले दोस्रो गोल गर्दै अग्रतालाई २–० को अवस्थामा पुर्‍याए ।

यो नतिजासँगै लिगमा च्यासलले आफ्नो यात्रा टुंग्याएको छ । १३औँ खेलमा जित निकाल्दै च्यासलले पाँच जित, तीन बराबरी र पाँच हारबाट १८ अंक बनाउँदै लिग अन्त्य गरेको हो ।

च्यासलले लिगमा श्री कुमारीविरुद्ध २–१, ब्वाइज युनियनसँग २–१, नयाँबस्तीविरुद्ध ४–२, रानीपोखरी कर्नर टिम (आरसीटी)विरुद्ध ३–२ र झापा फुटबल क्लबविरुद्ध २–० गरी पाँच खेलमा जित निकालेको थियो ।

पराजित झापाले हारको सामना गर्दै लिग अन्त्य गरेको छ । समान खेलमा समान १८ अंक बनाउँदै झापाले लिग अन्त्य गरेको हो । झापाले १३ खेलमा पाँच जित, तीन बराबरी र पाँच हारबाट १८ अंक बनाएको हो ।

लिगमा झापाले सरस्वती युथ क्लबलाई २–०, आरसीटीलाई २–१, बाँसबारी क्लबलाई २–०, नयाँबस्ती युथ क्लबलाई ३–१ र टुसाल युवा क्लबलाई २–० पराजित गर्दै पाँच खेलमा जित निकालेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्