
काठमाडौं । सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार साँझतिर माहोल हेर्दा लाग्थ्यो– कुनै उत्सव मनाइँदै छ । प्यारापिटको एकातर्फ ब्यान्ड बाजामा 'रातो र चन्द्र सूर्य' गुन्जिँदै थियो, अर्कोतर्फ घन्किँदै थियो धिमे बाजा ।
मध्यभागमा दुवै बाजाको संगीतमा प्रफुल्ल भएर नाच्दै थिए, टोखाली दर्शक । खेल सकिएपछि जोडिए खेलाडी पनि ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत १२औँ चरणमा ब्वाइज युनियन क्लबविरुद्ध २–१ को जित निकालेपछि भगवती क्लब टोखाका समर्थक र खेलाडीले मनाएको उत्सव थियो, यो । कारण विशेष थियो– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा भगवतीको बढुवा ।
यही जितले नै हो, भगवतीलाई शीर्ष डिभिजनको हैसियत दिलाएको । स्वभावलै खेलाडी, प्रशिक्षक, अफिसियल र समर्थक हर्षित थिए । अझ, निर्णायक खेलमा समर्थकको बाक्लो उपस्थितिले खुसीयालीलाई अझ दोब्बर बनायो ।
“खुसी छौँ, लिग खेल्नुअघिको लक्ष्य हासिल गर्यौँ । हाम्रो समर्थकले खोजेको माहोल पनि यही हो,” जितपछि मुख्यप्रशिक्षक महेश श्रेष्ठले खुसीको भाव पोखे ।
खेलमा दोस्रो शीर्ष टोली भगवती क्लब टोखा र तेस्रो शीर्ष टोली ब्वाइज युनियन क्लब तीन अंकका लागि प्रतिस्पर्धा गरिरहेका थिए । भगवतीलाई बराबरीमात्र पनि शीर्ष डिभिजनमा बढुवा हुन पर्याप्त थियो । समान १२ खेल खेलेको भए पनि दुई अंकले पछि परेको ब्वाइज युनियनलाई शीर्ष डिभिजनको सम्भावना कायम राख्न जित्नैपर्ने दबाब थियो ।
नेपाली घरेलु लिगको इतिहासमै पहिलोपटक महिला प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिएर कीर्तिमान बनाएको ब्वाइज युनियनले यसपटक अर्को कीर्तिमान कोर्न सकेन । हारसँगै ब्वाइज युनियनको शीर्ष डिभिजन सम्भावना समाप्त भयो ।
खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको भगवतीले दोस्रो हाफमा यसलाई बढाउन सकेन । जितका निम्ति भगवतीलाई थप गोलको आवश्यकता पनि परेन ।
छैटौँ मिनेटमा शिशिर लेखीले टोलीलाई अग्रता दिलाए । खेलको ३८औँ मिनेटमा अजित लामाले अग्रतालाई दोब्बर बनाए । ब्वाइज युनियनका सञ्जीव लामाले ७९औँ मिनेटमा ‘फ्रिकिक’मार्फत एक सुन्दर गोल फर्काए । वास्तवमै यो गोल हेर्नलायक थियो । तर, पनि सञ्जीवको यो गोल ब्वाइज युनियनको हार टार्न पर्याप्त बनेन ।
खेलका रेफ्री उज्ज्वल श्रेष्ठले समाप्तिको ह्विसिल बजाएपछि मैदानमा भगवतीले उत्सव मनायो । भगवती खेलको नतिजाबाट अपराजित बन्दै शीर्ष डिभिजनमा बढुवा हुने दोस्रो टोली बन्यो । टोलीले आठ वर्षदेखि देखिएको सपना पूरा गर्यो ।
यसअघि, ‘बी’ डिभिजन लिगको यस संस्करणबाट प्लानिङ ब्वाइज युनाइटेड पहिलो टोलीको रूपमा बढुवा भएको थियो । लिग च्याम्पियन पनि प्लानिङ नै बन्ने सुनिश्चित भइसकेको छ ।
मंगलबारको जितसँगै टोलीले आफ्नो अपराजित यात्रा पनि कायम राख्यो । टोलीले १२ खेलमा सात जित र पाँच बराबरीसहित अपराजित यात्रा कायम राखेको हो ।
शीर्ष डिभिजन क्लबको हैसियत पाएपछि प्रशिक्षक श्रेष्ठ क्लबले आठ वर्षदेखि गरिरहेको मिहिनेतको फल पाएको बताए । ‘‘०५७ सालमा स्थापना भएको टोखा क्लब आज २०८२ सालमा शीर्ष डिभिजनमा उक्लिएको छ, यो ठूलो कुरा हो । हाम्रो रणनीति पनि उक्लिने थियो । विकल्प पनि थिएन,’’ प्रशिक्षक श्रेष्ठले सञ्चारकर्मीसँगको कुराकानीमा भने ।
‘बी’ डिभिजनबाट शीर्ष डिभिजनसम्मको यात्रा तय गर्दा हुने खुसीको अनुभव प्रशिक्षक श्रेष्ठका निम्ति नौलो भने होइन । यसअघि, ०७८ सालमा खुलमटार ‘ए’ डिभिजन लिगमा बढुवा हुँदा श्रेष्ठ टोलीको सहायक प्रशिक्षक थिए ।
उनी भन्छन्, ‘‘यसअघि, मेरो सहनेतृत्वमा खुमलटार एफसी शीर्ष डिभिजन लिगमा बढुवा भएको थियो । त्यो बेला हामीले अन्तिम खेलमा जित निकाल्दै बढुवा भएको थियौँ । अहिले एक खेल अगावै बढुवा भएका छौँ । आज बारम्बार मिहिनेत गर्यो भने फल पाइन्छ भन्ने प्रमाणित भयो ।’’
भगवती नेपाली फुटबलको मूलधारमा आएको धेरै समय भइसकेको छैन । तर, ०५७ सालमा स्थापित भगवतीलाई शीर्ष डिभिजन लिगको हैसियत पाउन २५ वर्ष लाग्यो । क्लबले ०७३ मा पहिलोपटक ‘बी’ डिभिजनमा प्रतिस्पर्धा गरेको थियो ।
पछिल्लो दुई वर्ष घरेलु फुटबलले ‘बी’ डिभिजन लिग नपाउँदा भगवतीले अन्य प्रतियोगितामा सहभागिता जनाइराखेको थियो । त्यही सहभागितालाई नै लिगको तयारी मान्छन्, प्रशिक्षक श्रेष्ठ ।
‘‘हामीले दुई वर्ष अगााडिदेखि नै खेलाडीलाई एकढिक्का बनाएर राखेका थियौँ । दुई वर्ष अगाडिदेखि खेलाडीलाई ससानादेखि ठूलासम्म प्रतियोगितामा व्यस्त राख्यौँ । यसले गर्दा खेलाडीबीच सम्बन्ध बलियो भइराख्यो । यही कुराले हामीलाई फाइदा भएकोजस्तो लाग्छ,’’ प्रशिक्षक श्रेष्ठले भने ।
अब टोलीले आगामी पुस महिनाका लागि तय भएको शीर्ष डिभिजन लिगमा काठमाडौँ उपत्यकाको उत्तरीपूर्वी भेगमा अवस्थित प्राचीन नेवा बस्ती टोखाको प्रतिनिधित्व गर्नेछ । जहाँका समर्थक टोलीको हौशला बढाउन धिमे बाजा र परम्परागत नेवारी वाद्यवादनसहित उपस्थित हुने पक्का छ, जसको झल्को मंगलबारको खेलले नै देखाइसक्यो ।
शीर्ष डिभिजन आफैँमा चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक लिग मानिन्छ । तर, भगवती आगामी शीर्ष डिभिजनमा टोखाली ब्रान्डको फुटबल प्रदर्शन गर्ने तयारीमा छ ।
क्लबले बढुवा पाउँदा कप्तानी जिम्मेवारीमा थिए, उर्गेन जोंग्वु शेर्पा । उनी ‘ए’ डिभिजन लिग चुनौतीपूर्ण रहे पनि आफ्नो टोली तयार रहेको सुनाउँछन् ।
‘‘मैदानमामात्र नभइकन मैदान बाहिर पनि एकजुट छौँ । यसै कारण टिम बढुवा भएको हो । अब आउने शीर्ष डिभिजनमा नेपाली समर्थकहरूले राम्रो क्लब पाएको छ । यस डिभिजनमा विदेशीसहित अनुभवी नेपाली खेलाडी हुनेछन् । तर, हामी तयार छौँ ।’’
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी