
काठमाडौं । भारतसँग भएको सैन्य द्वन्द्व समाप्त भएको केही दिनपछि पाकिस्तानले बुधबार चीनसँग व्यापार र लगानी बढाउने सहमति गरेको घोषणा गरेको छ । यसअघि, चीनले भारत पाकिस्तानबीचको विवादलाई वार्तामार्फत समाधान गर्न आग्रह गरेको थियो ।
दक्षिण एसियाका चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान मे ७ देखि चार दिनसम्म चलेको तीन दशकको सबैभन्दा खराब सैन्य तनावपछि मे १० मा युद्धविराम गर्न सहमत भएका थिए ।
अप्रिल २२ मा भारतनियन्त्रित कश्मीरमा २६ जना पर्यटकको हत्यापछि दुवै छिमेकी देशबीच तनाव बढेको थियो । भारतले पर्यटकको हत्याका पछाडि पाकिस्तानको हात रहेको आरोप लगाएको छ, तर पाकिस्तानले आरोपलाई अस्वीकार गरेको छ ।
पाकिस्तानी विदेशमन्त्री इशाक दारले मंगलबार चीनमा चीनका विदेशमन्त्री वाङ यीसँग भेट गरेका थिए । मंगलबार वाङ यीले भने, “पाकिस्तान र भारतले आफ्ना मतभेदहरू वार्तामार्फत समाधान गर्न र एक व्यापक र दीर्घकालीन युद्धविराम प्राप्त गर्न गरेका प्रयासलाई चीनले स्वागत र समर्थन गर्दछ ।”
चीनको विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिअनुसार, वाङले दारलाई पाकिस्तानलाई आफ्नो राष्ट्रिय सम्प्रभुता र क्षेत्रीय अखण्डता सुरक्षित गर्न चीनले समर्थन गर्ने बताए ।
पाकिस्तानी विदेश मन्त्रालयले नजिकको सञ्चार कायम राख्नेलगायत दुवै देशले व्यापार, लगानी, कृषि, औद्योगीकरण र अन्य क्षेत्रमा थप सहयोग गर्न सहमत भएको बताएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले दार र वाङले चीनमा अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री आमिर खान मुत्ताकीसँग अर्को बैठक गरेका थिए ।
नेताहरूले चीन–पाकिस्तान आर्थिक करिडोरलाई अफगानिस्तानसम्म विस्तार गर्न र चीनको विश्व पूर्वाधार कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभको लागि थप सहयोग गर्ने निर्णय गरे ।
मन्त्रालयले तीन नेताहरूको अर्को बैठक काबुलमा हुने बताएको छ ।