site stats
बाह्रखरी :: Baahrakhari
खेल
पञ्जावलाई हराउँदै दिल्लीको सुखद अन्त्य

काठमाडौं । दोस्रो स्थानको पञ्जाव किंग्सविरुद्ध ६ विकेटको जित निकाल्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सुखद अन्त्य गरेको छ । यो जितसँगै दिल्लीले पाँचौँ स्थानमा रहँदै जारी संस्करण टुंग्याएको हो । दिल्लीले लिग चरणबाट १४ खेल खेल्दा १५ अंक जोडेको छ ।

शनिबार जयपुरमा सम्पन्न खेलमा पञ्जावले प्रस्तुत गरेको २०७ रनको लक्ष्य दिल्लीले १९.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

Argakhachi Cement Island Ad

दिल्लीको जितमा समीर रिज्वीले सर्वाधिक ५८ रन बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । यस्तै, करण नायरले ४४, केएल राहुलले ३५, कप्तान फाफ डु प्लेसिसले २३ र सदिकुल्लाह अटलले २२ रन थपे ।

पञ्जावका हरप्रीत ब्रारले दुई विकेट लिए । यस्तै, मार्को जान्सेन र प्रविन दुवेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको पञ्जावले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २०६ रनको योगफल खडा गरेको थियो ।

पञ्जावका श्रेयस एैयरले सर्वाधिक ५४ रन बनाएका थिए । यस्तै, मार्कोस स्टोइनिसले सर्वाधिक ४४ रन थपे । जस इंग्लिसले ३२, प्रभस्रिमन सिंहले २८ र नेहल वाधेराले १६ रन जोडे ।

दिल्लीका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिँदा मुकेश कुमारले एक विकेट हात पारे ।

यो हारबाट पञ्जावले भने तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । तालिकाको दोस्रो स्थानमा रहेको पञ्जावले १३ खेलबाट १७ अंक जोडेको छ । समान खेलबाट १८ अंक जोडेको गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्