
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज प्रो–एमको उपाधि प्रोफेसनल खेलाडी रामे मगरको टिमले जितेको छ । रोयल नेपाल गल्फ क्लबमा रामेको टिमले १२४ अंकसहित उपाधि जितेको हो । एमेच्योर गल्फरहरू सत्यजंग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरे ।
प्रो भुवन नगरकोटीको टिमले ११७ अंकसहित दोस्रो स्थान प्राप्त गरेको छ । टिमका एमेच्योर खेलाडीहरू रवीन्द्र पुरूष ढकाल, मुक्ति सेन गुरूङ र तारा कार्की चित्रकारले समान ३९ स्कोर गरेका थिए ।
यस्तै, प्रो रमेश अधिकारीको टिम ११४ स्कोरसहित तेस्रो भयो । एमेच्योर खेलाडीहरू स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बु लामाले ३८ र स्वदेश गुरूङले ३७ स्कोर गरे ।
महिलातर्फ अञ्जली योञ्जनले ३९ स्कोरमा राष्ट्रिय टिमकी खेलाडी तारा कार्की चित्रकारलाई काउन्ट ब्याकमा हराउँदै ट्रफी जितिन् । यसैगरी झलेन्द्र भट्टराईले लंगेस्ट ड्राइभ र फुन्सुक नोर्बु लामाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । प्रो–एममा कुल ९० एमेच्योर गल्फरको सहभागिता रहेको थियो ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।
शनिबार सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि धरानका प्रो शुक्रबहादुर राईले कोर्स रेकर्डसहित जितेका थिए । उनले समग्रमा १७–अन्डर २५५ को प्रभावशाली स्कोरमा नीरज तामाङलाई चार स्ट्रोकले हराउँदै उपाधि आफ्नो नाममा लेखाएका थिए । अब सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत आठौँ तथा अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर जुन १० देखि १३ सम्म गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रो–एम जुन १४ मा हुने बताइएको छ ।