
सियाटल (अमेरिका) ।विशाल ताल र हिउँ थुप्रिएका पर्वतहरूले घेरिएको मनमोहक सियाटलमा नेपथ्यले शुक्रबार सानदार उपस्थिति जनाएको छ । ब्यान्डले नयाँ-पुराना लोकरक गीत प्रस्तुत गरेर दर्शक-श्रोतालाई भरपूर मनोरञ्जन दिएको छ ।
सातौँ अमेरिका यात्रामा रहेको नेपथ्य सियाटलमा पहिलोपटक प्रस्तुत भएको हो । यस वर्षको अमेरिका यात्रामा भने ब्यान्डको यो दोस्रो शो हो । नेपथ्यले एक साताअघि टेक्सास राज्यको राजधानी अस्टिनमा पहिलो कन्सर्ट गरेको थियो ।
सियाटलको ‘मुर थिएटर’ का ढोकाहरू निर्धारित समय अनुसार नै शुक्रबार बेलुकी ठीक ७ बजे खुला गरिएका थिए भने त्यसको एक घण्टापछि शो सुरु भयो । नेपथ्यका मुख्य गायक अमृत गुरुङले गीत गाउँदा दर्शकले पनि सँगसँगै गाए, नाचे, रमाइलो गरे ।
संगीतमा रमाउने संसारभरिका श्रोता-दर्शकलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको अग्रणी ब्यान्डलाई हेर्न यहाँ विभिन्न ठाउँबाट नेपाली ओइरिएका थिए । अमेरिकी सहरको कन्सर्टमा झुम्न क्यानाडाबाट समेत नेपाली दर्शक आइपुगेका थिए ।
दर्शकमा नेपाली मात्रै थिएनन् । विदेशी अनुहारहरु पनि देखिन्थे । तिनैमध्येका थिए जोन सिमिङटन र कोल फोरम्यानको जोडी । भूकम्प गएका बेला एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रतिनिधि भई नेपालको सेवामा लामो समय खटिएका जोनले नेपाली भाषा र संस्कृतिको पनि थोरै ज्ञान लिएका रहेछन् ।
सुरुदेखि अन्तिमसम्मै रमाउने दर्शकको भीँडमा मनिमा गुरुङ पनि थिइन् ।
कास्कीको लामाचौरबाट आएकी उनको बसोबास १० वर्षभन्दा बढी समयदेखि सियाटलनजिकै केन्टमा छ ।
"नेपथ्यको कन्सर्ट हेर्ने सपना धेरै पहिलेदेखि थियो । अमेरिकामा आएर बल्ल पूरा भएकामा असाध्यै खुसी छु,"उनले भनिन्, "पहिलोपटक भएर पनि होला, स्टेजमा कलाकारहरू आएको देख्नेबित्तिकै शरीरभरि काँडा उम्रिएजस्तै भएको थियो ।"
कन्सर्टमै भेटिएका सुशील बोगटीले टाढाटाढाबाट दर्शक आएको देखेर अचम्म लागेको बताए ।
अर्का दर्शक शौरभ खनाल श्रीमती र बहिनीहरू समेत लिएर एक घण्टा परदेखि गाडी हाँक्दै कन्सर्टमा आइपुगेका थिए । उनले यति ठूलो संख्यामा नेपाली एकै ठाउँ भेट्दा रमाइलो लागेको सुनाए ।
टेक्सासको अस्टिन र वासिङ्टन राज्यको सियाटलपछि तेस्रो प्रस्तुतिका निम्ति ब्यान्ड थोरै तल ओर्लिएर क्यालिफोर्नियाको लस एन्जलस सहर पुगेको छ ।
सिनेमा निर्माणका लागि विश्वमै अग्रणी मानिने हलिउड अटाएको यस सहरको ‘हाउस अफ ब्लुज’ मा मे २६ मा ब्यान्डले लोकरक गीत सुनाउनेछ ।
ब्यान्ड मे ३१ मा पेन्सिलभेनियाको पिट्सबर्ग, जुन ७ मा इलिनोइसको सिकागो, जुन ११ मा म्यासाचुसेट्सको बोस्टन र अन्त्यमा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ ।
अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ ।