site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
नेपाली फुटबलको अस्ट्रेलिया प्रतिनिधिमा सुवास तामाङ

सिड्नी । अखिल नेपाल फुटबल संघले पुराना फुटबल खेलाडी सुवास तामाङलाई अस्ट्रेलियाको संयोजक तोकेको छ । तामाङ अस्ट्रेलियाको सिड्नीमा बसोवास गर्दै आएका छन् । 

नेपाली फुटबललाई अस्ट्रेलियासँग जोड्ने र यसको विकास र विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले तामाङलाई आधिकारिक रूपमै अस्ट्रेलियाको संयोजक तोकेको फुटबल संघले जनाएको छ ।

Argakhachi Cement Island Ad

अस्ट्रेलियामा नेपाली समाज बढिरहेको छ । स्थानीय तहमा पनि नेपाली फुटबल क्लब बढेका छन् भने खेलाडीको संख्या पनि उल्लेख्य वृद्धि भइरहेको छ । यसलाई नेपालसँग जोड्ने उद्देश्यले फुटबल संघले अस्ट्रेलियामा पनि प्रतिनिधि तोकेको हो ।

अहिले अस्ट्रेलियामा करिब तीन लाखको हाराहारीमा नेपाली बसोवास गर्दै आएका छन् । ५० भन्दा बढी नेपाली फुटबल क्लब र तीन हजारभन्दा बढी खेलाडी रहेका छन् ।
 
नेपालका नाम चलेका राष्ट्रिय टिमका फुटबलर पनि अहिले अस्ट्रेलियामा छन् । “यहाँको फुटबल र प्रविधिलाई नेपाली फुटबलसँग जोड्ने अनि सहयोग र समृद्धिको बाटोमा केही गर्न सकिन्छ भन्ने मेरो चाहना हो,” संयोजकको जिम्मेवारी पाएपछि सुवासले भने, “स्थानीय तहमा फुटबलको अलग्गै संस्था भए पनि उहाँहरूसँग सहकार्य गरेर नेपाली फुटबललाई अगाडि बढाउन मेरो भूमिका रहनेछ ।”

केही मैत्रीपूर्ण खेल, प्रविधिको आदानप्रदान र खेल समग्रीजस्ता विषयमा केन्द्रित रहेर नेपाली फुटबलको विकासमा केही गर्न सकिन्छ भनेर जिम्मेवारी लिएको सुवासले बताए ।

ग्यालेक्सी स्कुल पढ्दै गर्दा फुटबलमा होमिएका सुवास सन् २००५ मा उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका थिए । उनले यहाँ आएर पनि स्थानीय लालीगुराँस क्लबबाट फुटबल खेले । 

केही वर्षपछि खुट्टामा चोट लागेपछि उनले फुटबल त्यागेका थिए । अद्यापि, विभिन्न क्लबमा आबद्ध हुँदै यसक्षेत्रमा लाग्दै आएका छन् । सुवासले स्थानीय प्रतियोगितामा पनि सहयोग र सद्भावको हात बढाइरहेका छन् । 

“व्यवसाययमा विश्वास कमाउन र समाजमा योगदान गर्न सकिएन भने त्यसले कुनै प्रभाव दिलाउन सक्दैन भन्ने मेरो ठम्याइ हो,” उनले भने, “त्यसैले पनि यसपटक फुटबलको नयाँ जिम्मेवारी आएको छ त्यसलाई केही गरेर देखाउने अभियानमा लागेको छु ।”

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्