
पोखरा । नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघको १०औँ महाधिवेशन पोखरामा जारी छ । महाधिवेशनबाट चुनिने नेतृत्वका विषयमा संघसँगै सिंगो पार्टीपंक्तिमा चासो छ । शीर्ष नेता उमेदवारका पक्ष/विपक्षमा छन् ।
शनिबार (जेठ १०)सम्म अध्यक्ष पदमा चार आकांक्षी थिए । आइतबार (जेठ ११) निर्वाचन प्रक्रिया सुरु भएर उमेदवारको मनोनयनपत्र दर्ता गरिँदा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी उक्त पदनिम्ति भिड्ने भएका छन् ।
निर्वाचन समितिले मनोनयनपत्र दर्ताको समय तोकेपछि थेबे समर्थकका साथ नाराबाजीसहित उमेदवारी दिन पुगे । पुरीले पनि अन्तिम समयमा थेबेकै शैलीमा गएर अध्यक्षमा उमेदवारी दर्ता गराए ।
युवा संघका अरू पदाधिकारी, केन्द्रीय समिति, निर्वाचन आयोग, लेखा आयोग, युवाविज्ञ आयोग र अनुशासन आयोगमा पुग्न पनि मनोनयनपत्र दर्ता गरिएको छ । युवा संघको केन्द्रीय समिति १५१ सदस्यीय हुने व्यवस्था ।
अध्यक्षमा हालसम्म थेबे र पुरी दुईजनाले मात्र उमेदवारी दर्ता गराएका छन् ।
युवा संघका इन्चार्ज राजीव पहारीदेखि पूर्वअध्यक्ष महेश बस्नेत, जनवर्गीय संगठनका इन्चार्ज भानुभक्त ढकाललगायत नेताहरू थेबेलाई नै सर्वसम्मत अध्यक्ष बनाउने प्रयासमा लागेका थिए । तर, पुरीले कुनै पनि हालतमा अध्यक्ष पद नछाड्ने अडान लिए ।
शनिबार साँझ थेबेदेखि पुरीसम्मका समर्थकले पोखरा सभागृहभित्र र बाहिर नाराबाजी गर्दै आफ्नो पक्षमा माहोल देखाउने प्रयास गरेका थिए । अरू पदका आकांक्षीले पनि सोही रणनीति अपनाउँदै नाराबाजी गरे । सर्वसम्मतको प्रयास असफल भयो ।
आइतबारसम्ममा युवा संघको नयाँ नेतृत्व चयन भइसक्नुपर्ने थियो । तर, सहमति सम्भव भएन । इन्चार्ज पहारीले सहमतिको प्रयास गर्दा केही बढी समय लागेको बताए ।
हालका उपाध्यक्ष महाराज गुरुङ, प्रकाश गौतम, कृष्णहरि केसी अध्यक्षको दौडबाट बाहिरिएका छन् । उनीहरू बाहिरिएसँगै थेबे र पुरी भिड्ने भएका छन् ।
थेबे महासचिव हुँदै संघको नवौँ महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए । पुरी उपाध्यक्ष, महासचिव हुँदै हाल अध्यक्षमा दाबी गरिरहेका छन् ।
थेबेका पक्षमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, भानुभक्त ढकाल, महेश बस्नेतलगायत नेता देखिएका छन् । पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, विनोद ढकाललगायत नेताको समर्थन छ ।
पुरीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफूलाई मतदान गर्न आग्रह गरेका छन् । “केपी शर्मा ओलीज्यूले जुन अडान लिनुभएको छ, हाम्रो कार्यदिशा, कार्यभार, आगामी कार्यक्रम सोहीअनुसार बन्नेछन् । हामी गतिशील संगठनमा छौँ, हामीमाझ निश्चित बोर्डरलाइन छ । हामी ४० वर्षे हदबन्दीमा छौँ । यो संगठनमा सबैले आफूले गर्न सक्ने इफोर्ट दिन पाउनुपर्छ । संगठनमा नेतृत्व जाममा रहनु हँुदैन भन्ने हाम्रो दाबी हो । तसर्थ, मेरो उमेदवारी सशक्त रूपमा रहनेछ,” उनले भनेका छन् ।
निर्वाचन समितिले सूचना टाँस गर्दै सोमबार (जेठ १२) बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने जनाएको छ । विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ ।
मतदाननिम्ति शनिबार राति ४५ विद्युतीय मेसिन ल्याइएको छ । महाधिवेशनमा एक हजार ७५० प्रतिनिधि छन् ।