site stats
बाह्रखरी :: Baahrakhari
खेल
कान्तिपुर हाफ म्याराथन जेठ १७ मा, पुरस्कार राशिमा वृद्धि

काठमाडौं । कान्तिपुर हाफ म्याराथनको १३औँ संस्करण यही जेठ १७ गते शनिबार हुने भएको छ । ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यो वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमोरो’ छ ।

विभिन्न देशमा आयोजना हुने सिटी म्याराथनको अवधारणामा कान्तिपुर म्याराथन सफल हुँदै गइरहेको आइतबार (जेठ ११) आयोजित पत्रकार सम्मेलनमा कान्तिपुर पब्लिकेसन्सका सीईओ महेश स्वाँरले बताए ।

कान्तिपुर हाफ म्याराथनमा महिला र पुरुष दुवैतर्फ समान चार विधामा दौड हुनेछ । हाफ म्याराथन २१.१ किलोमिटरको हुनेछ । अरू तीन विधामा कलेज रन सात किमि, कर्पोरेट एन्ड सेलेब रन पाँच किमि र ह्विलचेयर रेस तीन किमिको हुनेछ ।

Argakhachi Cement Island Ad

सबै विधामा गरी दुई हजार ५०० भन्दा बढी धावकको सहभागिता रहने सीईओ स्वाँरले जानकारी गराए ।

उनले हरेक वर्ष हाफ म्याराथनलाई परिष्कृत गर्दै जाने क्रममा यसपालि पुरस्कार राशिमा पनि वृद्धि गरिएको बताए । उनका अनुसार, प्रतियोगिताको कुल पुरस्कार राशिमा आठ लाख नगद र चार लाख रुपैयाँबराबरको गिफ्ट ह्याम्पर छ ।

कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही एक लाख ५० रुपैयाँ पुरस्कार जित्नेछन् । दोस्रोदेखि छैटौँ हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार रुपैयाँ जित्नेछन् ।

ह्विलचेयर रेसतर्फ विजेताले ३५ हजार, दोस्रो हुनले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ जित्नेछन् । हाफ म्याराथनमा कोर्स रेकर्ड बनाउने खेलाडीले थप २५ हजार जित्नेछन् ।

गत वर्ष कान्तिपुर हाफ म्याराथन नेपाल आर्मीका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेका थिए । कर्पोरेट रन र कलेज रनतर्फ महिला र पुरुषका शीर्ष तीनमा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन दौड थापाथली, माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी, कटुन्जे रोडबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्कअगाडि आएर टुंगिनेछ ।

हाफ म्याराथनमा ओलम्पियन सन्तोषी श्रेष्ठ, पुष्पा भण्डारी, राजपुरा पछाई, पूर्णलक्ष्मी न्यौपाने, राजन रोकाय, खडकबहादुर खड्का, गोपीचन्द्र पार्कीलगायत चर्चित राष्ट्रिय खेलाडीले भाग लिनेछन् ।

कर्पोरेट रन सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर, बानेश्वर, सिभिल हस्पिटलअगाडिबाट फन्को लगाएर पुनः बानेश्वर, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा आएर टुंगिनेछ । सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस थापाथली, माइतीघर, बिजुलीबजार पुलअगाडिबाट फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै आएर टुंगिनेछ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  २३:२२
प्रतिक्रिया दिनुहोस्