
काठमाडौं । नेपाली राष्ट्रिय यू–२० महिला टिमको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ नियुक्त भएका छन् ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपको निम्ति गुरुङलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
आइतबार नै सातदोबाटोस्थित एन्फा मुख्यालयमा संघका महासचिव किरण राईले प्रमुख प्रशिक्षक गुरुङसहित अफिसियलहरूलाई नियुक्तिपत्र वितरण गरेका थिए ।
एन्फाले प्रशिक्षक अधिकारीसँगै सहायक प्रशिक्षकमा सन्देशकुमार श्रेष्ठ र किरणकुमार कार्कीलाई नियुक्त गरेको छ । त्यसैगरी, मीनबहादुर बस्नेतलाई गोलकिपर कोच र टिम व्यवस्थापकमा इन्दु दुवाललाई नियुक्त गरिएको छ ।
बंगलादेशमा आगामी जुलाई ११ देखि २१ सम्म साफ यू–२० च्याम्पियनसिप आयोजना हुनेछ । यही प्रतियोगितामा नेपालले पनि सहभागीता जनाउन लागेको हो ।