
काठमाडौं । भाटभटेनी सुपर मार्केटले गत चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा आफ्नो ८० लाखभन्दा बढीको क्षति भएको जनाएको छ ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित शाखाबाट सो दिन लुगा, मोबाइल, घडी, मदिरा तथा अन्य पेयपदार्थ लुटपाट भएको थियो ।
भवन र संरचनासहित कुल ८० लाख ३३ हजार १९२ रुपैयाँ ५२ पैसा बराबरको क्षति पुगेको भन्दै भाटभटेनीको कोटेश्वर शाखाले प्रहरीमा निवेदन दिएको छ । निवेदनमा उक्त लुटपाटमा संलग्नमाथि कानुनी कारबाही तथा सजायको माग गरिएको छ ।
भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिका प्रबन्धक निर्देशक मीनबहादुर गुरुङ र कोटेश्वर शाखाका म्यानेजर पुस्कल राईले छुट्टाछुट्टै निवेदनमार्फत आवश्यक हर्जना र क्षतिपूर्ति भराउन माग गरेका छन् ।