
काठमाडौं । नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोगका आरोपित गृहमन्त्री रमेश लेखकका विषयमा सोसल मिडियाले अनुसन्धान र अभियोजन गर्ने हक नराख्ने टिप्पणी गरेको छ । आइतबार (जेठ ११) दिउँसो बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले अनुसन्धान गर्ने छुट्टै निकाय रहेको बताए ।
“कुनै पनि विषयमा अभियोजन, अनुसन्धान गर्ने निकाय छन् । आमसञ्चारमाध्यम वा सोसल मिडियाका माध्यमबाट अनुुसन्धान, अभियोजन गर्ने हक राख्दैन,” उनले भने ।
उनले सामाजिक सञ्जालबाट फैसला नहुने समेत बताए । “अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्दछन् । दोषी देखिएमा कारबाहीमा पर्दछन् । सोसल मिडिया र आमसञ्चारमाध्यममा के टिप्पणी भयो भन्ने कुराका आधारमा फैसला हुँदैन,” उनले भने ।
उनले आरोपले मात्र सबै विषयको निर्धारण नहुने बताए ।