
काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता नरहेको जिकिर गरेको छ । मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार (जेठ १०) जारी गरेको विज्ञप्तिमा त्यस्ता समाचारप्रति दुःख व्यक्त गरिएको छ ।
“यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ, “साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनुहुन सबैमा अनुरोध गर्दछौँ ।”
शान्ति सुरक्षा, अमनचयन र सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा जनाइएको छ । “मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको छ,” विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम–कारबाहीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको मन्त्रालयले जनाएको छ ।
“अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ,” विज्ञप्तिमा उल्लेख छ, “आयोगबाट हुने छानबिन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।”
सेटिङमा भिजिट भिसामार्फत नेपाली युवालाई यूएईलगायत देश पठाउने कार्यमा संलग्न रहेको भन्दै अख्तियारले यही जेठ ७ गते गृहका सहसचिव तीर्थराज भट्टराईसहितका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो । भिजिट भिसामा नेपालीलाई विदेश पठाउने मानव तस्करको सेटिङमा गृहमन्त्री रमेश लेखक र उनको सचिवालय समेत मुछिएको छ ।
विज्ञप्ति पढ्नोस्–