site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘देशलाई कसले राम्रो बनाउने होला ?’

काठमाडौं । शिक्षाविद् एवं साहित्यकार डा. सदानन्द कडेलका दुई पुस्तक व्यक्तिवृत्त ‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’ र गीतसंग्रह ‘झुल्को आँखामा’ सार्वजनिक गरिएको छ । ती पुस्तक शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वले लोकार्पण गरेका हुन् ।

शनिबार (जेठ १०) काठमाडौंमा आयोजित कार्यक्रममा कृति सार्वजनिक गर्दै शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माले कडेलको यो कार्यको प्रशंसा गरे । उनले आफ्नो विगतका दिन र गरेको काम स्मरण गरे ।

प्रा. डा. शर्माले भने, “हामीले आफूले गरेको काम राम्रो बनाउन खोज्यौँ । तर, देशलाई कसले राम्रो बनाउने होला ? यो काम कसले र कसरी गर्ने भन्ने विषयमा विवेचना र समीक्षा हुनु जरुरी छ ।”

Argakhachi Cement Island Ad

शिक्षाविद् केदारभक्त माथेमाले नेपालमा शिक्षाले ठिक बाटो नलिएको टिप्पणी गरे । सार्वजनिक विद्यालयलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए । शिक्षाको विकासमा राज्यको कुनै ‘भिजन’ नै नभएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

प्रा. डा. वासुदेव त्रिपाठीले डा. कडेलले मिहिनेत गरेर अविस्मरणीय ग्रन्थ पाठकमाझ ल्याएको बताए । नयाँ पुस्ताले नेपालको शिक्षालाई नपत्याएर बाहिर गइरहेको भन्दै उनले यसको कारण खोजी गरिनुपर्नेमा जोड दिए । उनले शिक्षा क्षेत्र लक्ष्य, बाटो बिराएको झैँ भएको टिप्पणी गरे ।

प्रा. डा. मनप्रसाद वाग्लेले भावी पुस्ताका निम्ति आशाको किरण जगाउनतर्फ सजग हुन आग्रह गरे । 

प्रा. डा. विद्यानाथ कोइरालाले कडेलले हिम्मतका साथ यो पुस्तक ल्याएको बताए ।

‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’माथि प्रा. डा. बालचन्द्र लुइँटेलले र गीतसंग्रहमाथि प्रा. डा. अञ्जना वस्ती भट्टराईले समीक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा लेखक डा. कडेल, पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’, तारा सुवेदीलगायत साहित्यकारले बोलेका थिए । 

नेपाल स्रष्टा समाजद्वारा प्रकाशित पुस्तकमा शिक्षाको विकासमा योगदान दिने षडानन्द अधिकारी, जयपृथ्वीबहादुर सिंह, पं. दधिराम मरासिनी, रुद्रराज पाण्डे, शंकरदेव पन्त, जोर्ज जोन, प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. मथुराप्रसाद श्रेष्ठ, प्रा.डा. राममान श्रेष्ठ, प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. प्रेमनाथ मास्के, प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. मनप्रसाद वाग्ले, प्रा.डा. सूर्यप्रसाद सुवेदी, सहाना प्रधान, अंगुरबाबा जोशी, डा. ईश्वरप्रसाद उपाध्याय, केदारभक्त माथेमा, कृष्णप्रसाद कोइराला, अदनसिंहकठायत व्यक्तित्वका जीवनवृत्त समेटिएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्