
निशान थापा
यस्तै नै हुनेछ
जानेहरू फर्किने छैनन्
बस्तीहरू
रित्तोरित्तोबाट
झन् रित्तो हुँदै
एक दिन बिल्कुल खाली हुनेछ
तगारो बन्द भएको दिनदेखि
बन्दै छ
र, हामीले परिभाषा बदलेका छौँ
प्रेमले खान दिँदैन
मिलन मात्रै प्रेम होइन ।
तर, पर्खिरहनेहरूको के छ र ?
सदाझैँ पिता, आँगन गोडमेल गरिरहनेछन्
आमाले दैलो लिपिरहने नै छिन्
नासपाती त्यसरी नै फल्नेछ
पाक्नेछ
र, झर्नेछ
पर्खंदा पर्खंदै
एक दिन पर्खिनुको कारण पनि भुल्नेछन्
उसै पनि सुन्ने कोही नभएपछि
भन्ने कुराहरू पनि बिस्तारै बिर्संदै गइन्छ
बस्, यस्तै नै हुनेछ
बिस्तारै परिभाषाहरू बदलिनेछन्
मिलन बिछोडको
स्वार्थ निःस्वार्थको
आफू हुनु र नहुनुको
प्राप्ति र त्यागको
हार र जितको
पाप र पुण्यको
भगवान् र राक्षसको
सबै कुरा आँखाअगाडि हुनेछ
के हुनेछ ?
के हुनेछ भने
जित्दा जित्दै हारेजस्तो हुनेछ
पाउँदा पाउँदै गुमाएजस्तो हुनेछ
सुन्दर कविता लोकप्रिय हुने छैन
राम्रा गीत सुनिने छैनन्
राम्रा चित्र किनिने छैनन्
आफ्नै आफ्नै दुःख हुनेछ
आफ्नै आफ्नै भगवान्
बस्, यस्तै हुनेछ
(पोखरा)