site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रकृति, संस्कृति र मेरो देश
Argakhachi Cement Island Ad

मेरा साथ र काख शोभित हुने डाँडा र पाखा खुली
फुल्थे ती ढकमक्क चारु लहरा वासन्तीकी बेहुली
चौतारी मनको बसूँ कि त कतै थाकेर टोलाउँदै
मेरा शैशव कालका पलहरू संझेर बोलाउँदै ।
              (१)
प्रातःकर्म गरी खुला क्षितिजमा जन्मन्छ त्यो भाष्कर
लक्ष्मी, भानु र लेखनाथ कविका हुर्के बढेका घर
भेटिन्नन् तिनका कुनै सरसिला काव्यादिका अर्चना
यो ‘सोसल् मिडिया’ खुबै नकचरो सुके सबै सिर्जना !
               (२)
बाक्ला जङ्गलमा गुराँश भरिए लाली चढ्यो देशमा
आहा क्या सजियौ बिछट्ट रूपमा इन्द्रेणीको भेषमा
फुल्दा व्योम बिषे गुलाब मनमा चम्किन्छ मन्दाकिनी
तन्मा के सरिता छचल्किन गयौ बर्सातकी रागिनी
               (३)
यौटै स्वर्ग छ लोकमा भुवनमा हो ईशको यो लीला
बग्छन् कल्कल गण्डकी बगरमा द्यौता बनाई शिला
झर्थे फुरफुर शीत प्रीत गहना कादम्विनीका घडा 
मेरो शैशव काल ती बितिगए खोजूँ काहाँ आँकडा
               (४)
तीखो पत्थर चस्चसी पयरमा ऐया र आथो न छ
मैला ती झुपडी बिते दिन उहीं जो नीदमा आउँछ
चिल्ला मोटर साथमा छ अहिले, दर्बार झैँ छन् घर
बिक्छन् मानवता र मानिस कठै बिर्सेर छाँै नश्वर 
               (५) 
काफी थ्यो बरको हवा पिपलको पंखा किनै चाहियो
मीठो भोक रहेछ भोजन नभै यो बल्ल चाल् पाइयो
पृथ्वीको जलवायु नास्सिन गई के के हुने हो कता 
पग्लिन्छन् हिमका चुली दिनदिनै दब्ला कि यो सभ्यता ! 
              (६)
सुक्यो मूल कला र संस्कृति भने अध्यात्म नै ब्यर्थ छ
यो सिङ्गो इतिहास मेटिनगए भूगोल के अर्थ छ 
छाडे मन्दिर देवतागण भने घण्टा किनै चाहियो 
सारा मौलिकता गुमे अनि कसै बाँचेर के पाइयो ?
               (७)
(शार्दूलविक्रीडित छन्द)
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०६:१९
प्रतिक्रिया दिनुहोस्