
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा शनिबार (जेठ १०) बेलुका प्रहरीले गोली चलाएको छ । घटनामा एकजना घाइते भएका छन् ।
लागुऔषध गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको गस्ती टोलीले गोली चलाएको हो । गाँजाका पोका बोकेर आउँदै गरेका व्यक्तिलाई रोक्ने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ ।
एक व्यक्तिले प्रहरीमाथि खुकुरीले आक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुरुमा दुई राउन्ड हवाईफायर गरिएको र पछि आत्मरक्षाका निम्ति थप गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
गोली हानेर बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घुँडादेखि तलको भागमा गोली लागेका लिम्बूलाई उपचारका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।