
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ अन्त्यको अवस्थालाई निरन्तरता दिन प्राधिकरणको नेतृत्व बलियो हुनुपर्ने बताएका छन् ।
शनिबार (जेठ १०) भक्तपुरको नीलबाराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रममा उनले जनता र राम्रो टिमका कारण लोडसेडिङ अन्त्य गर्न सफल भएको बताए । यसलाई निरन्तरता दिन नेतृत्वका साथै व्यवस्थापकीय पक्ष बलियो हुनुपर्ने उनले उल्लेख गरे ।
हावाहुरीलगायत कारणबाहेक बत्ती आउने–जाने समस्यलाई प्राधिकरणले गम्भीर रूपमा लिँदै उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । उनले प्राधिकरणको वर्तमान नयाँ नेतृत्वले सही मान्छे व्यवस्थापन गर्दै उनीहरूको मनोबल उच्च राखेर काम गरे २४ घण्टा नै बत्ती नजाने गर्न सकिने बताए ।
“विद्युत् क्षेत्रमा लागेका साथीहरूले धेरै काम गर्नुपर्छ । लिडरसिप स्ट्रङ हुनुपर्छ । कुनै पनि माथिल्लो निकायबाट दिएको दबाबलाई त्यो किसिमले नलिएर अघि बढ्नुपर्छ,” उनले भने ।
उनले आफूले हालसम्म गरेका कामको अनुभवका आधारमा जनतामा समर्पित भएर लाग्ने सुनाए ।
धेरै क्षेत्रमा रहेको अँध्यारोलाई उज्यालोमा परिणत गर्ने दायित्व सबैको भएको भन्दै उनले आफू पनि त्यसनिम्ति क्रियाशील हुने बताए । हिमालयन टेली भ्वाइस