
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सविरुद्ध १० विकेटको जित निकाल्दा कुल तीन टिमले प्लेअफमा स्थान सुरक्षित गरे ।
खेलमा दिल्लीले केएल राहुलको शतकमा १९९ रनको योगफल खडा गरेको थियो । तर, साई सुदर्शनले पनि शतक बनाएपछि गुजरातले दिल्लीले दिएको २०० रनको लक्ष्य विकेट नगुमाई १९ ओभरमा भेटाएको थियो ।
यो शतकसँगै साई प्रतियोगितामै सबैभन्दा धेरै रन बनाउने ब्याटरको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । साईले हालसम्म गुजरातबाट १२ खेल खेल्दा ६१७ रन बनाएका छन् । यस क्रममा उनले पाँच अर्धशतक र एक शतक प्रहार गरेका छन् ।
‘ओरेन्ज क्याप’ दौडको दोस्रो स्थानमा गुजरातकै सुभमन गिल छन् । गिलले पनि दिल्लीविरुद्ध अविजित ९३ रन बनाएका थिए । प्रतियोगितामा १२ खेल खेलेका सुभमनले ६ अर्धशतकसहित ६०१ रन बनाएका छन् ।
यस्तै, यस सूचीको तेस्रो स्थानमा यशस्वी जैसवाल छन् । राजस्थान रोयल्सका यशस्वीले १३ खेलमा ६ अर्धशतकसहित ५२३ रन बनाएका छन् । यसैगरी, चौथो स्थानमा रहेको मुम्बईका सूर्यकुमार यादवले १२ खेलबाट ५१० रन बनाएका छन् । पाँचौँ स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरुका विराट कोहली छन् । उनले ११ इनिङमा सात अर्धशतकसहित ५०५ रन बनाएका छन् ।
‘पर्पल क्याप’मा पनि गुजरातकै खेलाडी
प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने बलरको सूचीमा पनि गुजरातकै बलर शीर्ष स्थानमा छन् । गुजरातका प्रशिद्ध कृष्णा २१ विकेटसहित ‘पर्पल क्याप’ दौडको सबैभन्दा अघि छन् । दोस्रो स्थानमा रहेका चेन्नाई सुपर किंग्सका नुर अहमदले १२ इनिङमा २० विकेट लिएका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेका बेंगलुरुका जस हेजलवुडले १८ विकेट लिएका छन् । समान १८ विकेट नै लिएका मुम्बईका ट्रेन्ड बोल्ट यो सूचीको चौथो स्थानमा छन् । पाँचौँ स्थानमा रहेका कोलकाता नाइट राइडर्सका वरुण चक्रवर्तीले १२ खेलमा १७ विकेट लिएका छन् ।