
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब टोखाले नयाँबस्ती युथ क्लबविरुद्ध ३–० को सहज जित निकालेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा भगवतीलाई जित दिलाउन देवस छन्त्याल, अमित लामा र विक्रान्त नरसिंह राणाले गोल गरे । भगवतीले पहिलो हाफमा नै तीन गोलको अग्रता लिएको थियो ।
खेलको तेस्रो मिनेटमा भगवतीका देवसले गोल गर्दै टोलीलाई अग्रता दिलाए । १६औँ मिनेटमा अमितले टोलीको अग्रतालाई दोब्बर बनाए । ३०औँ मिनेटमा विक्रान्त नरसिंहले टोलीका निम्ति तेस्रो गोल गरे ।
पहिलो हाफमा पाएको यही अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै भगवतीले जित निकालेको हो ।
जितसँगै भगवतीले उपाधि दौडमा दबदबा कायम राखेको छ । भगवती सात खेलमा पाँच जित, दुई बराबरीबाट कुल १७ अंक बनाउँदै दास्रो स्थानमा छ । भगवतीको यो अंक शीर्ष टोली प्लानिङ ब्वाइजको भन्दा एक अंकले मात्र कम हो ।
नयाँबस्ती भने सातौँ खेलमा चौथौ हार खेप्दै एक जित र दुई बराबरीबाट पाँच अंक सहित रेलिगेसन जोनमा छ ।