site stats
बाह्रखरी :: Baahrakhari
देश
यो वर्ष सरदरभन्दा धेरै वर्षा, धेरै गर्मी, धेरै जाडो हुने

काठमाडौं । यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने देखिएको छ । जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना छ ।

यस वर्षको मनसुनमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तर–पूर्वी भूभाग, वाग्मती र कोसी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । 

मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

विभागका अनुसार, अधिकतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको उत्तरी भूभाग, गण्डकी प्रदेशको पश्चिमी भूभाग, मधेस प्रदेशको पश्चिमी भूभाग र वाग्मती प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । 

मधेस प्रदेशको पूर्वी भूभाग र गण्डकीको मध्य भूभागमा सरदर भन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले बताएको छ ।

यो वर्ष न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना छ ।  कर्णाली र वाग्मती प्रदेशका अधिकांश भूभाग, लुम्बिनी प्रदेशको मध्य भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोसी प्रदेशको तराई भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । 

सुदूरपश्चिम प्रदेशको दक्षिण–पश्चिमी भूभाग, गण्डकीको उत्तर–पूर्वी भूभाग र कोसी प्रदेशको उत्तरी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । देशका बाँकी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्