site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सोयाबिन र सनफ्लावर तेलका कारण ७२ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा दुई खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांकअनुसार गत वर्षको वैशाखसम्मको तुलनामा निर्यात ७२.७१ प्रतिशतले बढेको हो ।

यो अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । यो अवधिका देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको १० महिनासम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ व्यापारघाटा थियो ।

सोयाबिन तथा सनफ्लावर तेल निर्यात बढेसँगै एक्कासि निर्यातमा वृद्धि भएको हो । वैशाखसम्म ७८ अर्ब ७५ करोड ७० लाख रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ । गत आर्थिक वर्षको वैशाखसम्म एक अर्ब ७० अर्ब ९५ करोड रुपैयाँको सोयाबिन तेल निर्यात भएको थियो ।

गत वर्षको वैशाखसम्म सबैभन्दा बढी कार्पेट तथा गलौचा निर्यात भएको थियो । यो वर्षको १० महिनामा कार्पेट तथा गलौचा तीन नम्बरमा पुगेको छ । वैशाखसम्म आठ अर्ब ८४ करोड ७० लाख रुपैयाँको कार्पेट तथा गलौचा निर्यात भएको छ । गत वर्षको वैशाखसम्म आठ अर्ब ७९ करोड ९६ लाख रुपैयाँको कार्पेट तथा गलौचा निर्यात भएको थियो ।

चालु वर्षको वैशाखसम्म १० अर्ब ९ करोड ४९ लाख रुपैयाँको सनफ्लावर तेल तथा कच्चा पदार्थ निर्यात भएको भन्सार विभागले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्