site stats
बाह्रखरी :: Baahrakhari
देश
हिमतालमुनि जमेको लेदो बग्दा गएको थियो हुम्लामा बाढी, कस्तो छ पछिल्लो अवस्था ?

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँको तिल्चुङ खोलामा जेठ १ एक्कासि बाढी आयो । सुक्खा बाढीका कारण केही काठेपुल बगायो । जमिन कटान हुँदा समुद्री सतहबाट करिब ३८ सय मिटरको उचाइमा रहेको तिलगाउँ नै जोखिममा छ ।

जोखिममा परेका तिलगाँउका १८ परिवारलाई सशस्त्र प्रहरी बलको टोलीले सुरक्षित ठाउँमा सारेको थियो । बाढीलगत्तै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट हिल्साको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले एक्कासि आएको बाढीलाई ‘थर्मल क्रस्ट आउट ब्रस्ट’ भनेको छ । माथिल्लो भागमा रहेको हिमतालमुनि जमेको ‘कालो हिउँ’ ताप र चापका कारण बनेको लेदो एक्कासि बाहिर आएको इसिमोडले जनाएको छ ।

Humla-Badhi12-1747821262.jpg
सोमबार (जेठ ५) गृहमन्त्री रमेश लेखकसहित बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा इसिमोडका तर्फबाट यस्तो जानकारी गराइएको हो । अध्ययनका लागि इसिमोडलाई प्राधिकरणले आग्रह गरेको थियो । इसिमोडले ‘स्याटेलाइट इमेज’ हेरेर अध्ययन गरेको थियो ।

तिलगाउँबाट त्यहाँ गएका स्थानीयले खिचेर पठाएका तस्बिर पनि अध्ययन गरिएको गृह मन्त्रालयअन्तर्गको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए । उक्त घटना भएको समयमा त्यहाँको तापक्रम बढेको पाइएको उनले बताए ।

के छ अहिलेको अवस्था ?
जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले तिलगाउँवासीलाई नजिकैको सुरक्षित स्थानमा सारिएको बताए ।

‘‘तिलगाउँवासी जोखिममा छैनन् । हामीले उहाँहरूलाई नजिकैको सुरक्षित स्थानमा राखेका छौँ । केहीलाई स्कुल तथा त्रिपालको व्यवस्था गरिएको छ । सबै प्रकारका खाद्य सामग्री उपलब्ध गराएका छौँ । खानेपानीका लागिसमेत दुई किलोमिटर टाढाबाट पाइपमा ल्याएर उपलब्ध गराएका छौँ ।’’

Humla-Badhi1-1747821262.jpg
स्थानान्तरण गरिएका तिलगाउँवासीलाई पुनः उनीहरूकै घर फर्काउन सकिन्छ कि सकिँदैन भन्नेबारे निरीक्षण गर्न विज्ञसहितको टोली काठमाडौंबाट हुम्ला गएको छ । गृह मन्त्रालयको विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाको टोली हुम्ला गएको छ ।

विज्ञसहितको टोली मंगलबार काठमाडौंबाट हुम्ला हिँडेको र आज आइपुग्ने सीडीओ पाण्डेयले बताए । उनका अनुसार, हाललाई सुरक्षित स्थानमा सारिएका परिवारलाई विज्ञको सुझावपछि मात्रै घर फर्काइने वा कुनै उपयक्त ठाउँमा राखिनेछ ।

प्रमुख जिल्ला अधिकारी खाद्य सामग्री पठाएको बताए पनि नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङले भने ६ दिनदेखि राहतको प्रतीक्षामा रहेको बताए ।

Humla-Badhi12214-1747821261.jpg
‘‘सरकारले हामीलाई कुनै पनि राहत पठाएको छैन । पालिकाबाट आएको केही राहतले गुजारा चलाएका छौँ, खानेपानीको समेत अभाव छ । संघीय सरकारले हेलिकोप्टरमार्फत राहत पठाउने आश्वासन दिएको थियो । तर, हामी ६ दिनदेखि हेलिकोप्टरको प्रतीक्षामा छौँ,’’ उनले भने ।

आफू समस्यामा परेका परिवारको व्यवस्थापनामा लागेको उनले बताए । उनका अनुसार, बाढीका कारण २१ घरधुरीका ३३ जना पालमुनि बस्न बाध्य छन् ।

Humla-Badhi-1747821262.jpg

Humla-Badhi1221-1747821261.jpg

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्