site stats
बाह्रखरी :: Baahrakhari
देश
फेरि खोलिँदै भारतको धौलीगंगा बाँध, महाकाली नदी आसपास सचेत रहन आग्रह

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध दोस्रोपटक खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेसनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रानुसार आगामी शनिबार (असार २९ गते) बिहान ६ बजेदेखि ३० गतेसम्म परियोजनाको बाँध खोलिने जनाएको छ । 

बाँध खोलेका बेला र त्यसपछिको केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

Argakhachi Cement Island Ad

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रानुसार वर्षात्‌को कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रतिदिन वृद्धि भएकाले सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो ।

बाँध खोलेका बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । बाँध खोलिएपछि महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी वारपार नगर्न आग्रह गरिएको छ । 

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान स्थानीय प्रशासनले अनुरोध गरेको छ । 

धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षात्‌का बेला हरेक वर्ष खोल्ने गरिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ ।

यसअघि भारतले गएको असार १५ गते बिहान ६ बजेदेखि १६ गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो । विसं २०७० असार २ र ३ गते एक्कासि धौलीगंगाको बाँध खोलिँदा दार्चुलाको सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौंको क्षति भएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्