site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌मा रवि लामिछानेको गुनासो– योभन्दा म टेलिभिजनमा प्रभावकारी थिएँ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले सत्ताको स्वार्थपूर्ति गर्न ‘महागठबन्धन’ बनाउन सक्नेलाई शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कोसी प्रदेश सरकारको उदाहरण दिँदै शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका हुन् ।

“कोसीमा सत्तास्वार्थमा मिल्न सक्ने, महागठबन्धन बन्न सक्ने तर पीडितलाई न्याय दिने विषयमा शान्ति प्रक्रिया टुंगो लगाउन कसले रोक्यो, हामी नयाँ दलले ? हामी प्रक्रियागत रूपमा पीडितको पक्षमा रहेर कहाँ सहयोग गर्नुपर्ने हामी दिन तयार छौँ,” उनले भने ।

Argakhachi Cement Island Ad

ठूला दलहरूमा व्यवस्था गुम्छ कि भन्ने चिन्ता बढेको उनको भनाइ छ । कसका कारणले व्यवस्था गुम्ने हो भन्दै उनले प्रश्न समेत गरे । व्यवस्था अरूका कारण कि तपाईं हाम्रो चरित्रका कारण खतरामा छ भन्दै उनले थप प्रश्न गरे ।

“यसमा प्राथमिकता दिएको भए यसमा चिन्ता गर्नुपर्ने थिएन । व्यवस्था जोगाएका छौँ कि आफ्नो मान्छे ?,” उनले भने, “साँच्चै मुलुकको चिन्ता हुन्थ्यो भने जेलमा बसेको मान्छे छुटाउने चिन्ता हुने थिएन ।”

उनले संसद्ले जनप्रतिनिधिको आवाज सुनेको छैन भने नागरिकको आवाज कसरी सुन्छ भन्दै प्रश्न गरे । पार्टीले पटक–पटक दर्ता गराएको संकल्प प्रस्तावलगायत विषय सरकारले छलफलमा नल्याएको उनले उल्लेख गरे ।

“मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई प्रश्न सोध्छौँ, ताकि उहाँहरूबाट जवाफ आउन सकोस्, नागरिकलाई आश्वस्त पार्न सकियोस् । तर, दुःखका साथ भन्छु– यो संसद्ले हामी जनप्रतिनिधिको आवाज सुनेको छैन, नागरिकको आवाज के सुनेको छ,” उनले भने, “योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथे । नागरिकको समस्याहरू सुल्झाउने काममा योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ ।”

उनले सहकारीको समस्यालाई साधारण रूपमा लिइए धेरै मानिसको बिल्लीबाठ हुने बताए । अहिले आईपीओका नाममा घाटा लागेको संस्थामा बुकमा नाफा देखाएर नागरिकको पैसा ठग्ने काम सुरु गरिएको उनको टिप्पणी छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्