site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवाबारे गुरुङ भन्छन्– रिस गरेर हुन्छ ? अझै प्रधानमन्त्री बन्न सक्नुहुन्छ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्यागको मूल्य खोज्न नहुने बताएका छन् । शनिबार (जेठ १०) काठमाडौंमा कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृतिसभामा उनले यस्तो बताएका हुन् ।

राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औँला गनेर हिसाब गरेर बस्न नमिल्ने उनले उल्लेख गरे । राजनीतिमा आफ्नो गन्तव्य, लक्ष्य हुने भन्दै उनले त्यो देश र जनताको हितमा हुनुपर्नेमा जोड दिए ।

Argakhachi Cement Island Ad

“राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो । आफ्नो लक्ष्य भनेको देश र जनताको लक्ष्य हो,” उनले भने, “लक्ष्य प्राप्तिको लागि अविरल, अटल ढंगबाट अघि बढ्नुपर्छ । त्यो नै मैले गुरुबाट पाएको शिक्षा हो ।”

पार्टी सभापति शेरबहादुर देउवा राजनीतिक यात्राका क्रममा अटल खटेको परिणामतः पाँचपटक प्रधानमन्त्री बनिसकेको उनले बताए । देउवा अझै प्रधानमन्त्री बन्न सक्ने उनको भनाइ थियो ।

“हाम्रो सभापतिज्यू, पूर्वप्रधानमन्त्रीज्यू, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्र गर्दा उहाँले खप्नुभएको उतारचढाव व्याख्या गर्नु पर्दैन,” उनले भने ।

उनले अगाडि भने, “त्यो उतारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ । रिस गरेर हुन्छ ? पाँचपटक प्रधानमन्त्री बन्नुभयो । भनेर हुन्छ ? अझै बन्न सक्नुहुन्छ नि उहाँ ! ६ पटक, सातपटक नि बन्न सक्नुहुन्छ । त्यो यात्रा हो नि त । त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो ।”

उपसभापति गुरुङले राजनीति अविरल यात्रा भएकाले यसमा आँधीबेरी चल्दा पनि त्यसलाई छिचौल्दै अघि बढ्न सक्नुपर्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्