site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अरुण तेस्रोको बिजुली डीभीसीले किन्ने, एसजेबीएनसँग भयो सम्झौता

काठमाडौं । भारत सरकार स्वामित्वको सतलज जलविद्युत् निगम लिमिटेड (एसजेबीएन)ले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली दामोदर भ्याली कर्पोरेसन (डीभीसी)लाई बेच्ने भएको छ । अरुण तेस्रोबाट ९०० मेगावाट विद्युत् उत्पादन हुनेछ । त्यसमध्ये दामोदर भ्यालीलाई २०० मेगावाट बिजुली बिक्री गरिने विकासकर्ता एसजेबीएनले जनाएको छ ।

विद्युत् बिक्रीसम्बन्धी सम्झौतापत्रमा एसजेबीएनका अध्यक्ष एवं प्रबन्ध निर्देशक भूपेन्द्र गुप्ता र डीभीसीका कार्यकारी निर्देशक सञ्जीव श्रीवास्तवको उपस्थितिमा हस्ताक्षर गरिएको भारतको आर्थिक अनलाइन दी इकोनोमिक टाइम्सले जनाएको छ ।

सतलजले सहायक कम्पनी एसजेबीएन अरुण ३ पावर डेभलप कम्पनीमार्फत आयोजना बनाइरहेको छ । हालसम्म आयोजनाको ७५ प्रतिशत बढी काम सकिएको छ । आयोजनाबाट आउँदो तीन वर्षभित्र बिजुली उत्पादन गर्ने लक्ष्य छ ।

Argakhachi Cement Island Ad

जलविद्युत्, प्रसारणलाइन पूर्वाधार समेत गरी आयोजना बनाउन एक खर्ब ४४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । जलविद्युत् पूर्वाधार बनाउन एक खर्ब चार अर्ब र प्रसारणलाइनतर्फ ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

एसजेबीएनले बनाइरहेको नेपालतर्फ २१७ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन भारतको मुजफ्फरपुरमा जोडिनेछ । आयोजना सञ्चालनमा आएको २५ वर्षपछि नेपालले पाउने आयोजना विकास सम्झौता (पीडीए)मा उल्लेख छ ।

आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली सित्तैमा पाउने सन् २०१४ मा गरिएको पीडीएमा उल्लेख छ । एसजेबीएनले ढल्केबरमा रहेको सबस्टेसनबाट उक्त बिजुली नेपाललाई दिनेछ । एसजेबीएनले अब ५०० मेगावाट बिजुलीको बजार निश्चित गर्न बाँकी छ । 

गत वर्ष जेठ २२ गते आयोजनाको १२ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मुख्य सुरुङको ब्रेक थ्रु गरिएको थियो । आयोजना ०७५ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिन्दामा रहेको बाँधदेखि विद्युत्गृहको ठाउँ चिचिला गाउँपालिका–३, दिदिङसम्म पानी पथान्तरणका निम्ति १२ किलोमिटरको सुरुङ निर्माण गरिएको छ । आयोजना सम्पन्न भई व्यावसायिक उत्पादन भएको एक वर्षभित्र प्रभावित क्षेत्रका स्थानीयले सेयर पाउने पीडीएमा व्यवस्था छ । पीडीएअनुसार, आयोजनाबाट एक अर्ब ६० करोड रुपैयाँबराबरको सेयर स्थानीयलाई दिइनेछ ।

अर्धजलाशय (पीआरओआर) आयोजनाबाट तीन अर्ब ४६ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनको निष्कर्ष छ । आयोजनाको मुख्य सुरुङ फ्याक्सिन्दाको आमराङदेखि दिदिङसम्म ११.८३ किलोमिटर छ ।

एसजेबीएनले ६६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजना निर्माण सुरु गर्दै छ । तल्लो अरुणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारी लगानी बोर्डलाई बुझाएको छ । ०८० जेठमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेका बेला लगानी बोर्ड र एसजेबीएनबीच पीडीएमा हस्ताक्षर भएको थियो ।

उक्त आयोजना बनाउन कुल ७६ अर्ब ७४ करोड रुपैयाँ (४७ अर्ब ९६ करोड ७८ लाख भारु) लाग्ने विकासकर्ता भारतीय कम्पनी एसजेबीएन लिमिटेडले तयार पारेको डीपीआरले देखाएको छ ।

आयोजनाको प्रतिमेगावाट लागत ११ करोड ३० लाख रुपैयाँ देखिएको छ । प्रतिमेगावाट लागतका हिसाबले यो आयोजना सस्तो हुनेछ । सस्तो आयोजना भएकाले यसको प्रतिफलदर उच्च देखिएको छ । अर्धजलाशयुक्त प्रकृतिको आयोजनाबाट वार्षिक दुई अर्ब ६२ करोड ५० लाख युनिट ऊर्जा उत्पादन हुनेछ ।

एसजेबीएनले नेपाल विद्युत् प्राधिकरणसँगको साझेदारीमा ४९२ मेगावाटको अरुण चार आयोजना बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्