
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारका निम्ति भन्दै आमनागरिकमाथि गोली प्रहार गर्नु माओवादी हिंसाको चरम कायरता भएको बताएका छन् । शनिबार (जेठ १०) काठमाडौंमा कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृतिसभामा उनले यस्तो बताएका हुन् ।
जनताको अधिकारका नाममा समाज विकासका निम्ति महत्त्वपूर्ण प्रभाव पार्न सक्ने व्यक्तिहरूमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादी हिंसाको चरम कायरताको चिह्न भएको उनले उल्लेख गरे । त्यस प्रकारका घटनाबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको महसुस गर्ने गरेको उनको भनाइ थियो ।
“यस्ता प्रकृतिका घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको रियलाइज पनि गर्दछन् । कतिपय ठाउँमा गल्ती भएको छ भन्छन्,” उनले भने, “कति हृदयदेखि भन्छन् । कति हाम्रो सामुन्ने कुरा गर्दछन् ।”
नेता सिटौलाले स्व. रेग्मीले कांग्रेस पार्टी निर्माणमा पारेको प्रभाव र संगठन निर्माणमा देखाएको बाटोमा हिँड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । न्युज एजेन्सी नेपाल