site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अबको तीन वर्ष ‘वार स्पिरिट’मा काम गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष ‘वार स्पिरिट’मा काम गर्नुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले नियमित शैलीमा अघि बढेर पार्टी नबन्ने बताए ।

थापाले ०८२ सालभित्र महाधिवेशन गरेर पार्टीलाई चलायमान बनाउनुपर्ने प्रस्ताव गरे ।

“हामीसँग संघको सरकार, सातवटै प्रदेशका सरकार, ३३२ वटा स्थानीय सरकार र २६०० बढी वडा सरकार छन्,” थापाले भने, “हामी ०८४ को कुरा छोड्दिउँ । यो चार वर्ष छ । यो चार वर्षको जिम्मा कसको ? हाम्रै हो नि हैन ?”

Argakhachi Cement Island Ad

उनले संगठनको अहिलेकै शैलीले उद्देश्य हासिल नहुने बताए ।

“हामीले ‘करप्सन’विरुद्ध यही बैठकबाट बोल्न सक्नुपर्छ । कोही पनि कांग्रेसको व्यक्ति करप्सनमा पर्छ भने त्यसलाई कांग्रेसले जोगाउँदैन भन्ने संकल्प गर्न सक्नुपर्छ,” थापाले भने, “सुशासनका लागि कांग्रेसले ‘इनिसिएसन’ लिन सक्नुपर्छ । कांग्रेसले सुशासन दिन्छ भन्ने विश्वास आम मानिसमा जगाउन सक्नुपर्छ ।”

उनले आगामी चार वर्षमा पार्टीले यी यी काम गर्यो भनेर देखाउन सक्नुपर्ने बताए ।

“हामीले ०४८ सालदेखि ०५१ सालमा जसरी देशको अवस्था बदल्यौँ, त्यसरी नै अबको बाँकी अवधिमा देशको अवस्था बदल्नुपर्छ,” थापाले भने, “अर्थतन्त्र, शिक्षा तथा स्वास्थ्य क्षेत्रसहित आम नागरिकको जीवनस्तर सुधारमा देखिन उपलब्धि गर्न सक्नुपर्छ ।”

उनले विश्वविद्यालय तथा सार्वजसिनक संस्थालाई कांग्रेसले दलीयकरणको दुष्चक्रबाट बाहिर निकाल्नुपर्ने बताए ।

“दलीयकरणको दुष्चक्रबाट नेपाली कांग्रेसले देशलाई माथि उठाउनुपर्छ । विश्वविद्यालय, अड्डा, अदालत होस्, हाम्रो मान्छेको मानसिकताबाट बाहिर निस्कनुपर्छ,” थापाले भने, “हाम्रो मान्छेको मानसिकता त्याग्दै राम्रो मान्छे लगेर ‘राइट म्यान, राइट प्लेस’को नीति लागु गर्न सक्नुपर्छ ।”

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्