site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सीएनआई पदाधिकारी र रास्वपा सभापति लामिछानेबीच अर्थतन्त्रका विषयमा छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ ।

नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरूले बिहिबार सभापति लामिछानेसँग छलफल गरेका हुन् ।

परिसंघका अध्यक्ष अग्रवालले सबै राजनीतिक दलहरूले अर्थतन्त्रलाई मुख्य प्राथमकितामा राख्नुपर्ने बताए । अर्थतन्त्र अप्ठ्यारो स्थितिमा रहेकाले बजारलाई चलायमान गराउने नीतिको आवश्यकता औंल्याए ।

उनले सबै दलहरूले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी बजेट कार्यान्वयन गराउनुपर्नेमा जोड दिए । बजेटको प्रभावकारी कार्यान्वयनका रचनात्मक सहयोग गर्ने उद्देश्यले निजी क्षेत्रको तर्फबाट परिसंघले सुरु गरेको बजेट वाचका विषयमा जानकारी गराएका छन् ।

अध्यक्ष अग्रवालले भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा पूर्वाधार विकास गरिनुपर्ने, सूचना प्रविधि, सीप विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह समेत गरे ।

सभापति लामिछानेले अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र बलियो बन्नुपर्ने बताए । उनले निजी क्षेत्रलाई देशको नीतिले संरक्षण गर्नुपर्नेमा जोड दिँदै योजना बनाउनेदेखि कार्यान्वयन तहसम्म निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व हुनुपर्ने बताए ।

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्