site stats
बाह्रखरी :: Baahrakhari
विचार
सहरी सरसफाइ र आय आर्जनको असल अभ्यास

भारतको मध्यप्रदेश राज्यको इन्दौरले सहर फोहोर व्यवस्थापनमा विगत  ७ वर्षदेखि भारतको सबैभन्दा सफा सहर बनेर प्रथम स्थान हासिल गरेको छ ।  फोहर व्यवस्थापनमा अब्बल यस सहरले आफ्नो स्वच्छताको मापदण्डलाई हरेक वर्ष अझ माथि उठाएको छ । फोहर व्यवस्थापनमा इन्दौर नगर निगम कुशल  तथा प्रभावकारी देखिन्छ । जसको सफलताको कथाबाट हामीले सिक्नुपर्ने धेरै कुरा छन् ।

यहाँ फलफूल तथा तरकारी बजारबाट निस्कने २० टन फोहोरबाट दैनिक ८०० केजी बायो-सीएनजी (Bio-CNG) ग्याँस उत्पादन हुन्छ जसबाट सहरका २२ वटा बसहरू चलिरहेका छन् । हाल ५०० टन प्रतिदिन क्षमताको नयाँ बायो-मिथेनेसन प्लान्ट पनि जडान गरिएको छ जसले दैनिक १७ हजार केजी बायो-सीएनजी  ग्याँस उत्पादन गर्दैछ । यसबाट सहरका अधिकांश बस चल्नेछन् र नगर निगमलाई वार्षिक २ करोड ५० लाखभन्दा बढी आम्दानी भएको छ । यसबाट ५५-५६ टन कम्पोस्ट मल उत्पादन हुन्छ । 

प्रश्न उठ्छ- "कसरी यो सहरले छोटो समय लगभग ७ वर्षमा यो सफलता हासिल गर्‍यो ?" यसको मुख्य कारण सय प्रतिशत फोहोर नै स्रोतमै  छुट्याउनु (source segregation) रहेछ । फोहोर व्यवस्थापनको शृङ्खलामा स्रोतमा नै फोहोर छुट्याइएन भने बाँकी सबै प्रक्रियाहरू असफल हुन्छन् । 

सुरुमा इन्दौर सहरमा पनि फोहोर सङ्कलन र प्रशोधन समस्याकै रूपमा थियो । जताततै फोहोरका थुप्रा र डङ्गुरहरू देखिन्थे ।  वातावरण प्रदूषित  थियो । यो समस्या समाधान गर्न सुरुमा २ वटा वडाबाट काम थालियो र शत प्रतिशत नै फोहोर सङ्कलन गर्दा स्रोतमा नै छुट्याउनेमा जोड दिइयो । ६-८ महिनापछि यो प्रणाली ८५ वटै वडाहरूमा लागु गरियो ।

फोहोर सङ्कलन र छुट्याउने प्रक्रिया 

इन्दौर सहरमा २६ लाख जनसङ्ख्याको बसोबास छ । प्रतिदिन १ हजार २९ टन फोहोर उत्पादन हुन्छ जसको शत प्रतिशत  प्रशोधन तथा उपचार गरिन्छ । 

यहाँको फोहोरलाई निम्न ६ प्रकारमा छुट्याइन्छ– कुहिने (biodegradable), नकुहिने (non-biodegradable), प्लास्टिक, सेनेटरी, घरेलु खतरनाक (domestic hazardous), र इ-फोहोर । यस कामको लागि २ हजा, ८५४ जना सरसफाइ कर्मचारीहरू खटिएका छन् । घरघरबाट फोहोर सङ्कलन गर्न छुट्टाछुट्टै ६ वटा खण्ड भएको गाडी प्रयोग गरिन्छ ।

यहाँका वडाले "शून्य फोहोर वडा" (Zero Waste Ward) को अवधारणा ल्याएका छन् । यहाँका बासिन्दाहरूले आफ्नो घरको फोहोर न्यूनमात्रामा बाहिर पठाउँछन् । कुहिने फोहोर घरमै कम्पोस्ट मल बनाइन्छ । सुख्खा फोहोर (बोतल, भाँडाकुँडा) पुनः प्रयोग गरिन्छ । खतरनाक फोहोरका लागि छुट्टै भाँडाको व्यवस्था छ । नागरिकहरूलाई उत्प्रेरित गर्न "फोहोर छुट्याउने घर" जस्ता स्टिकरहरू प्रयोग गरिन्छ । सङ्कलित फोहोरलाई ८२९ वटा गाडीहरूले ९ वटा ट्रान्सफर स्टेसनहरूमा पुर्‍याउँछन् । त्यहाँ सबैभन्दा पहिले फोहोरलाई  तौलिन्छ । कम्प्रेस गरिन्छ र प्रशोधन केन्द्रमा पठाइन्छ । सबै गाडीहरूमा जीपीएस GPS प्रणाली जडान गरिएको छ र निगरानी कक्षबाट निरन्तर निगरानी गरिन्छ । नियम उल्लङ्घन गर्नेलाई जरिवाना र पटकपटक उल्लङ्घन गर्नेलाई बर्खास्तसमेत गरिन्छ । 

सुख्खा फोहोरलाई पुनःप्राप्ति केन्द्र (Material Recovery Facility - MRF) मा पठाइन्छ । त्यहाँ फोहोरलाई आकार, संरचना र प्रयोगको आधारमा १८ श्रेणीमा छुट्याइन्छ । पुनः प्रयोग हुन सक्ने वस्तुहरू रिसाइकल केन्द्रमा पठाइन्छ भने बाँकी निष्क्रिय फोहोर (inert waste) सिमेन्ट कारखानामा वैकल्पिक इन्धनको रूपमा प्रयोग गरिन्छ ।

कुहिने फोहोर (Wet Waste) नगर निगमको ६०० टन प्रतिदिन क्षमताको मेकानिकल कम्पोस्टिङ प्लान्टमा दैनिक प्रशोधन गरिन्छ । यसबाट  अवैध फोहोर सङ्कलन र डम्पिङ ९० प्रतिशत घटेको छ । 

देवगुराडियास्थित पुरानो ल्यान्डफिल साइट हाल सुन्दर पहाडी बगैँचामा परिणत भएको छ । इन्दौर सहर सन् २०२४ मा पनि प्रभावकारी रूपमा फोहोर व्यवस्थापन गरेबापत प्रथम स्थानमा  पुग्यो र सन् २०१६ देखि लगातार पहिलो स्थानमा रहँदै आएको छ । इन्दौर नगर निगमकी आयुक्त प्रतिभा पालले यो सफलताको श्रेय राजनीतिक इच्छाशक्ति, प्रशासनिक  कुशलता र विशेष गरी इन्दौरका नागरिकहरूको अभूतपूर्व सहभागितालाई दिएकी छिन् । यस सहरले अब  अर्थतन्त्र  र प्रशोधन प्रणालीलाई अझै प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

प्रभावकारी फोहोर व्यवस्थापन गरी "फोहोरलाई मोहोर" बनाउने मोडलको सफलताको कारण  मेयर पुष्यमित्र भार्गवका अनुसार नागरिकहरूको बानी र व्यवहारमा आएको सकारात्मक परिवर्तन, जनसहभागितामा वृद्धि, सरसफाइ अभियानमा जनताको सक्रिय सहभागिता, सरसफाइ कर्मचारीहरूको महत्त्वपूर्ण योगदान हो । 

फोहोरबाट सम्पत्ति (Waste to Wealth)

इन्दौर,फोहोरबाट सम्पत्ति, फोहोरलाई कलामा (Waste to Art) मा परिवर्तन गर्ने र फोहोरबाट आम्दानी गर्ने नवीन सहरकालागि विश्वव्यापी ब्रान्ड बनेको छ । महात्मा गान्धीले भनेझैँ "सरसफाइ नै ईश्वरभक्ति हो" (Cleanliness is Godliness) भन्दै इन्दौरको अन्यसहरका प्रमुखहरुले प्रशंसा गरेका छन् । इन्दौरको सफलताको श्रेय नागरिकहरूको अनुशासित व्यवहार, कुशल प्रशासनिक व्यवस्थापन र फोहोरलाई स्रोतमा नै छुट्याएर त्यसलाई आम्दानीको माध्यम बनाउने नवीन सोचलाई दिएको छ ।

प्रकियावद्ध प्रयासले २ महिनामै  दुई वडाहरू "शून्य फोहोर वडा" बने । त्यसपछि यो मोडेल क्रमशः १० वटा वडा हुँदै पूरा सहरमा लागु गरियो । यसमा नागरिकहरूको पनि ठूलो भूमिका छ । उनीहरूले भिजेको फोहोरबाट घरमै कम्पोस्ट मल बनाउँछन् र प्लास्टिकलाई सकेसम्म पुनःप्रयोग गर्छन् । बाँकी फोहोर "टिपर्स" गाडीले सङ्कलन गर्छ । सङ्कलित फोहोरलाई "ट्रान्सफर स्टेसन" मा लगिन्छ । जहाँ तौल गरेर भिजेको र सुक्खा फोहोर छुट्याइन्छ । सुक्खा फोहोरलाई "मटेरियल रिकभरी फेसिलिटी" (MRF) मा पठाइन्छ । त्यहाँ फोहोरलाई आकार, प्रकार र प्रयोगपछिको अवस्थाअनुसार १८ विभिन्न श्रेणीमा छुट्याइन्छ । 

छुट्याइएको फोहोर किनेर रिसाइकल गर्न नगर निगमले विभिन्न कम्पनीहरूसँग सम्झौता गरेको छ । भिजेको फोहोरबाट बायो-CNG ग्याँस उत्पादन गरिन्छ । यो बायो-CNG सामान्य CNG भन्दा ५ रूपैयाँ सस्तो छ र यसबाट सहरका लगभग १८ हजार बसहरू चल्छन् । बाँकी ग्याँस निजी कम्पनीहरूलाई बिक्री गरेर नगर निगमले आम्दानी पनि गर्छ । सडक र गल्ली सफा राख्न ८ हजा, ५०० जना "सफाइ मित्र" हरू ३ सिफ्टमा काम गर्छन् जसले गर्दा सहर चौबिसै घन्टा सफा रहन्छ । 

सहरबाट निस्कने पानीको ढललाई पनि ३ विशेष प्लान्टमा प्रशोधन गरिन्छ र त्यो पानी सार्वजनिक बगैँचा, खेत र निर्माण कार्यमा प्रयोग गरिन्छ । यस सहरले स्वच्छतामा उच्च मापदण्ड कायम गरेको छ । घर-घरबाट छुट्याइएको गिलो र सुख्खा फोहोर १०० प्रतिशत सङ्कलन गरिन्छ । सहरबाट दैनिक निस्कने ६०६ टन सुख्खा फोहोर पनि सबै रिसाइक्लिङको लागि प्लान्टमा पठाइन्छ ।

इन्दौर नगर निगमद्वारा ट्रेन्चिङ ग्राउन्डमा साढे चार एकड क्षेत्रमा भारतको पहिलो र अत्याधुनिक सुख्खा फोहोर रिसाइक्लिङ प्लान्ट स्थापना गरिएको छ । यस प्लान्टले प्रतिदिन न्यूनतम ३०० मेट्रिक टन सुख्खा फोहोर रिसाइकल गर्छ । नेप्रा रिसोर्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडसँगको सहकार्यमा तीस करोडको लागतमा ‘हाइली अटोमेटेड प्लान्ट’ स्थापना गरिएको छ । यसबापत कम्पनीले इन्दौर नगर निगमलाई प्रतिवर्ष १ करोड २५ लाख शुल्क भुक्तान गर्छ ।

घरबाट सङ्कलन गरिएको र पूर्णतः छुट्याइएको सुख्खा फोहोर ट्रान्सफर स्टेसन हुँदै प्लान्टमा पुग्छ । त्यसपछि सबैभन्दा पहिले फोहोरको तौल गरिन्छ । डम्पिङ (Dumping) मिनी पोक्लेन मेसिनले फोहोरलाई कन्भेयर बेल्टमा खसाल्छ । ट्रोमेल (Trommel Screening) कन्भेयर बेल्टबाट फोहोर अगाडि बढेर ट्रोमेलमा पुग्छ । यहाँ फोहोरलाई आकार र मोटाइको आधारमा छुट्याइन्छ । जस्तै ५० एमएमभन्दा कम, ५० देखि ३०० एमएमको बीच, र ३०० एमएमभन्दा बढी ।

त्यसपछि ब्यालिस्टिक सेपरेटर (Ballistic Separators) बाट फोहोरलाई १० टन क्षमताका दुई ब्यालिस्टिक सेपरेटरमा पठाइन्छ  । 

त्यसपछि अप्टिकल सर्टिङ (Optical Sorting) प्रविधिको मद्दतले एल्युमिनियम, फलाम, छाला, पोलिथिन, कागज, काँच, पेट (PET), रफिया र आरडीएफ (Refuse Derived Fuel) अर्थात् इन्धनको रूपमा प्रयोग हुनेजस्ता १३ प्रकारका फरक फरक किसिमका फोहोरलाई स्वचालन र रोबोटिक्स प्रक्रियाद्वारा छुट्याइन्छ । 

मान्छेले छुट्ट्याउने (Manual Sorting) 

छुट्याइएको फोहोरलाई विभिन्न कन्भेयर बेल्टद्वारा सम्बन्धित बङ्करहरूमा पठाइन्छ तर छाला, काँच र धातुजस्ता वस्तुलाई बङ्करमा नपठाएर छुट्टै बाकसमा सङ्कलन गरिन्छ । कुनै फोहोर मेसिनले छुट्याउन नसकेको वा गलत ठाउँमा परेको भए त्यहाँ कार्यरत तालिमप्राप्त फोहोर टिप्नेहरूले आफ्नो अनुभव प्रयोग गर्दै हातले छुट्याएर गुणस्तर जाँच गर्छन् ।

यहाँ करिब ५ सय जना फोहोर टिप्ने व्यक्तिहरूले प्लास्टिक, कागज, कार्टुन, कपडा, सिसा, छाला, कार्डबोर्ड, धातुका टुक्रा, पोलिथिन, काठजस्ता वस्तुलाई अलगअलग छुट्याउँछन् । यी छुट्याइएका वस्तुहरू पुनः प्रयोग र रिसाइकलका लागि तयार गरिन्छन् । इन्दौर नगर निगमले २०० टन र २५० टन क्षमताका दुईवटा म्यानुएल रिसोर्टिङ फ्यासिलिटी स्थापना गरेको छ जसको कुल लागत ३ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

फोहोर प्रशोधन र रिसाइक्लिङ एमआरएफमा विभिन्न मेसिनहरू प्रयोग गरेर सुक्खा फोहोरलाई रिसाइकल गरिन्छ । फतका मेसिनमार्फत् प्लास्टिकबाट माटो र अन्य फोहोर हटाइन्छ । श्रेडर मेसिनले प्लास्टिकलाई मसिनो गरी काट्छ । यसैगरी इग्लो एवं गट्टा मेसिनद्वारा प्लास्टिकबाट ब्लक वा कच्चा पदार्थ (plastic raw material) बनाइन्छ । यी मेसिनहरूबाट दैनिक २५ देखि ३० टन पोलिथिन रिसाइकल गरिन्छ । मसिनो गरी काटिएको प्लास्टिक सडक निर्माणमा र सिमेन्ट उद्योगमा इन्धनको रूपमा प्रयोग हुन्छ । प्लास्टिकको गट्टा ब्लकबाट प्लास्टिकका पाइप र अन्य वस्तुहरू बनाइन्छ ।

नगर निगमले १७ जना कबाडी कम्पनीलाई एमआरएफसँग जोडेको छ । उनीहरूलाई त्यहाँबाट विभिन्न सामग्री किन्न र भण्डारण गर्न ठाउँ उपलब्ध गराइएको छ । कबाडीले किनेको सामग्री दर्ता भएका रिसाइकलरसम्म दैनिक पुग्ने सुनिश्चित गरिन्छ । यसको कम्प्युटरमा रेकर्ड राखिन्छ ।"बेसिक" नामक संस्थाको निगरानीमा उनीहरूले सङ्कलन गरेको फोहोरको मात्रा अनुसार कबाडीमार्फत् भुक्तानी गरिन्छ । पहिले नगदमा भुक्तानी गरिन्थ्यो भने अहिले सुधार गर्दै सबैको परिचयपत्र बनाउने र बैङ्क खाता खोल्ने काम भइरहेको छ । नगदरहित (क्यासलेस) कारोबारबाट भुक्तानी गर्न सकियोस् र उनीहरूलाई डिजिटल कारोबारमा जोडी औपचारिक क्षेत्रमा समेट्ने तथा उनीहरूको शोषण रोक्ने लक्ष्य राखिएको छ । जो पहिले फोहोर टिप्थे उनीहरूलाई ट्रेन्चिङ ग्राउन्डमै रोजगारी दिइएको छ । उनीहरूले दैनिक ५०० देखि १००० रूपैयाँसम्म कमाउँछन् । उनीहरूले सबै प्रकारका फोहोरहरू छुट्याउँछन् ।

पहिले उनीहरू सहरमा बिहान ५ बजेदेखि नै साना बच्चासहित बोरा बोकेर घुम्नुपर्थ्यो तर अहिले तिनलाई एकै ठाउँमा काम दिइएको छ । यसरी इन्दौर नगर निगमले "स्वच्छ भारत" अभियानअन्तर्गत फोहोरको प्रभावकारी व्यवस्थापन गरिरहेको छ ।

अन्तिम चरणमा    बेलिङ (Baling) बङ्करमा पुगेको सुख्खा फोहोरलाई बेलिङ मेसिनद्वारा निश्चित आकारका साना गठ्ठाहरूमा बाँधिन्छ जसले गर्दा उठाउन र ढुवानी गर्न सजिलो हुन्छ । रिसाइक्लिङ कम्पनीहरूलाई बिक्री गरी गठ्ठाहरूलाई गाडीमा भरेर विभिन्न रिसाइक्लिङ कम्पनीहरूलाई पठाइन्छ र सम्पूर्ण प्रक्रियापछि बाँकी रहेको पुनर्चक्रण गर्न नसकिने सामग्री (non-recyclable material) लाई सिमेन्ट कम्पनीहरूलाई इन्धनको रूपमा दिइन्छ । यसप्रकार यो प्लान्टमा कुनै पनि प्रकारको फोहोर खेर जाँदैन । यो प्लान्टमा शत प्रतिशत सुख्खा फोहोरको रिसाइक्लिङ हुने भएकाले यस प्लान्टलाई "शून्य फोहोर ल्यान्डफिलमा" (Zero Waste to Landfill) को दर्जा प्राप्त भएको छ । त्यसैले यो सहर  भारतकै सबैभन्दा सफा सहर बन्यो भन्ने गरिन्छ । 

इन्दौरले आवास तथा सहरी मामिला मन्त्रालय (MOHUA) द्वारा सञ्चालित स्वच्छता सर्वेक्षणमा लगातार सातौंपटक उपाधि जितेको छ । फोहोर सङ्कलन र व्यवस्थापनको प्रमुख पक्षलाई सफलतापूर्वक समाधान गरेर आज फोहोर तथा सरसफाइ अभियानको चरणबद्ध  यहाँको सफलताको रहस्यको  चर्चा/विश्लेषण गरिँदैछ । 

इन्दोर नगर निगमकी आयुक्त हर्षिका सिंह भन्छिन् - "यसको सफलताको सूत्रमा तीन मुख्य तत्त्वहरू  छन् । यो एउटा विशेष किसिमको मोडेल हो । जुन विगत ७-८ वर्षमा विकसित भएको छ । "जनसहभागिता" यसको मूल आधार हो । घर-घरबाट छुट्याइएको फोहोर सङ्कलन गर्ने प्रणाली स्थापित गरिएको छ जसमा आम नागरिकको सहभागिता रहन्छ । यस्तै फोहोर उठाउने गाडी, विभिन्न प्रकारका फोहोर (गिलो, सुख्खा, घरेलु, खतरनाक, ई-फोहोर, स्यानिटरी) छुट्टाछुट्टै राख्ने व्यवस्था  छ । फोहोर सङ्कलनदेखि विसर्जनसम्म एक निश्चित ढाँचा (dedicated pattern) छ । संस्थागत संरचना र रणनीतिक मानव संसाधन व्यवस्थापन यसका महत्त्वपूर्ण पक्ष हुन् ।"बिहान ५ बजेदेखि राति ३ बजेसम्म (लगभग २२ घन्टा) प्रविधिको प्रयोग गरी निरन्तर निगरानी गरिन्छ । यो एक बृहत् र संस्थागत मोडेल हो जसको निरन्तरतामा जोड दिइन्छ । 

नागरिक उत्प्रेरणा 

नागरिकलाई ६ प्रकारमा फोहोर छुट्याउन वर्षैभरि कसरी उत्प्रेरित गरिन्छ भन्ने सम्बन्धमा हर्षिका सिंह भन्छिन् - "इन्दौरको स्वच्छता मोडेल "जनसहभागिता" मोडेल हो । विगत ७-८ वर्षदेखि र आज पनि नगर निगमले नागरिकहरूसँग स्वच्छताको विषयमा दैनिक अन्तर्क्रिया गर्छ । नगर निगमका साथै गैरसरकारी संस्थाहरू (NGOs) र आवासीय कल्याण संघहरू (RWAs) पनि यसमा संलग्न छन् । दैनिकरूपमा सूचना, शिक्षा र सञ्चार (IEC) गतिविधिहरू र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिन्छन् । यो दैनिक प्रयासले गर्दा फोहोर व्यवस्थापन सहरवासीहरूको बानी बनिसकेको छ । उनीहरू ६ प्रकारका भाँडाहरूमा फोहोर छुट्याउँछन् र कसैले नियम उल्लङ्घन गरेमा त्यसलाई निरुत्साहित गर्छन् ।"

सफाइ कर्मचारीहरूको उत्प्रेरणा 

एघार हजारभन्दा बढी सफाइ कर्मचारीहरूमा राति काम गर्ने र अधिकांश महिला छन् । तिनलाई कसरी उत्प्रेरित गरिन्छ ? हर्षिका सिंह भन्छिन्, "इन्दौरमा सफाइ कर्मचारीहरूको ठूलो र समर्पित टोली छ जसविना यो अभियान सफल हुने थिएन । सफाइ कर्मचारीहरूका विभिन्न सङघसंस्थालाई पनि प्रक्रियामा सामेल गराइएको छ । नगर निगमले सफाइ कर्मचारी र उनीहरूका परिवारको कल्याणलाई उच्च प्राथमिकता दिन्छ । स्वास्थ्य सेवा, बिमा, बच्चाहरूको शिक्षा आदि यसमा पर्छन् । उनीहरूलाई नगर निगम परिवारकै सदस्यको रूपमा हेरिन्छ । विभिन्न अवसरमा नागरिकहरूद्वारा सफाइ कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमहरू आयोजना गरिन्छ । प्रचार सामग्रीमा पनि सफाइ गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको तस्किर देखाइन्छ । यसले उनीहरूलाई आफ्नो कामप्रति गर्व महसुस गराउँछ ।

आर्थिक व्यवस्थापन 

धेरै नगर निगमहरू आर्थिक सङ्कटमा रहेको सन्दर्भमा इन्दौरले यो बृहत् कार्यका लागि आर्थिक स्रोत कसरी जुटायो भन्ने प्रश्नमा हर्षिका सिंह भन्छिन् - "इन्दौरको स्वच्छताको आर्थिक मोडेल विभिन्न वित्तीय मोडेलहरूको मिश्रण हो । ठूला प्रशोधन प्लान्टहरू जस्तै एसियाकै ठूलो बायो-सीएनजी प्लान्टको सञ्चालन सार्वजनिक-निजी साझेदारी (PPP) मोडेलमा गरिएका छन् । यस प्रणाली प्रयोगकर्ता-आधारित (user-based) छ जहाँ नागरिकहरूले "स्वच्छता शेष कर" तिर्छन् । नियम उल्लङ्घन गर्नेलाई जरिवाना पनि गरिन्छ । यो सङ्कलित रकमले दैनिक खर्च धान्न मद्दत गर्छ र नगर निगमले खर्चमा सन्तुलन (break-even) हासिल गर्न सकेको छ ।" सार्वजनिक-निजी साझेदारी (PPP) मोडेल भारतमा पूर्वाधार निर्माणमा सफल भए पनि सरसफाइ क्षेत्रमा त्यति सफल छैन तैपनि इन्दौरमा कसरी यो सफल भयो भन्ने जिज्ञासामा सिंह भन्छिन्, "इन्दौरले फोहोर व्यवस्थापन कार्य गर्न निजी कम्पनीहरूलाई जग्गा उपलब्ध गरायो र सबै आवश्यक अनुमतिहरू छोटो समयमा दिलाउन मद्दत गर्‍यो । इन्दौर देशको एकमात्र सहर हो जसले पूर्णरूपमा छुट्याइएको फोहोर सङ्कलन गर्छ । यसले प्रशोधन प्लान्टहरूको दक्षता बढाउँछ र लागत घटाउँछ । सम्पूर्ण फोहोर सङ्कलन र ढुवानीको जिम्मा नगर निगमले लिन्छ । नगर निगमले नै छुट्याइएको फोहोर प्रशोधन कम्पनीसम्म पुर्‍याउँछ ।"

सहरलाई सफा र हरियाली राख्ने आगामी योजनाको सम्बन्धमा हर्षिका भन्छिन् - "हालसालै १३१ "नन-अटेन्मेन्ट"(वायु गुणस्तर मानक पूरा नगर्ने) सहरहरूमध्ये इन्दौरले वायु गुणस्तर सूचकाङ्कमा सबैभन्दा राम्रो सुधार गरेकोमा पुरस्कृत भएको थियो । अबको लक्ष्य प्रतिव्यक्ति फोहोर उत्पादन घटाउने, फोहोरको पुनःप्रयोग, पुनःचक्रण र न्यूनीकरण (Reuse, Recycle, Reduce - 3R) मा केन्द्रित हुनेछ र दिगो जीवनशैलीतर्फ अघि बढ्नेछ ।"

सार्वजनिक तथा सामुदायिक शौचालयको बारेमा हर्षिका सिंह भन्छिन्,  "सबै सार्वजनिक र सामुदायिक शौचालयहरू जियो फेन्स्ड (geo-fenced) छन् र तिनको तथ्याङ्क उपलब्ध छ । सफाइको तालिका छ र सेन्सरहरू जडान गरिएका छन् । दुर्गन्ध निश्चित स्तरभन्दा बढी भयो भने तुरुन्त सफाइको लागि सूचना जान्छ । यो निरन्तर निगरानी प्रक्रिया दैनिक कार्यप्रणालीको हिस्सा बनेको छ जसले गर्दा पर्यटक र यात्रीको चापलाई पनि व्यवस्थापन गर्न सकिएको छ ।"

अन्य प्राविधिक नवीनता सम्बन्धमा हर्षिका सिंह बताउँछिन्, "इन्दौरको एकीकृत कमान्ड एन्ड कन्ट्रोल सेन्टर (Integrated Command & Control Centre) ले महत्त्वपूर्ण भूमिका खेलेको छ । यसबाट घरघरबाट फोहोर उठाउने गाडीहरूको वास्तविक समयमा निगरानी गरिन्छ र ५ मिनेटभन्दा बढीको विचलनको समेत माथिल्लो निकायसम्म सूचना पुग्छ । यसरी घरघरबाट फोहोर सङ्कलनदेखि विसर्जन र प्रशोधन प्रक्रियासम्मको सम्पूर्ण प्रणालीलाई सूक्ष्म रूपमा निगरानी गरिन्छ ।" 

यसबाट हामीले सिक्ने धेरै कुरा छन् । धेरै असल अभ्यासको रूपमा लिन सकिन्छ । काठमाडौँ महानगरपालिकालगायत २३ वटा नगरपालिकाका फोहरमैला अव्यवस्थितरूपमा ककनी गाँउपालिकामा फालिएको छ । त्यसले गर्दा ककनी गाउँपालिकाका १,२,३ वडा वासी अतिप्रभावित छन् ।

काठमाडौँ उपत्यकामा फोहोरमैला व्यवस्थापनमा देखिएको समस्या १८ वर्ष बितिसक्दा पनि जस्ताको त्यस्तै छ । जिम्मेवारीमा रहेकाहरू सबैजसो नाक थुन्दै मूकदर्शक भएर बसिरहेका छन् । खासै कहीँकतैबाट सकारात्मक पहल भएको देखिँदैन । जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध गाँसिएको संवेदनशील क्षेत्रमा काम गर्न कसैले रोक्न र बाधा पुर्‍याउन नपाउने नीति हुँदाहुदै पनि किन निष्प्रभावी भइरहेको छ ? किन यो रहस्यमय र राजनीतिक विषय बनिरहेको छ ? किन फोहोरमैलाको सही व्यस्थापन गर्ने हिम्मत कसैले गर्न सकिरहेको छैनन् ?

काठमाडौँको फोहोर व्यस्थापनका लागि सरकार, राजनीतिक दल र जनताबाट कुनै खास चासो र पहलहरू भएको देखिँदैन । यो लाजमर्दो र घीनलाग्दो विषय बनेको छ । वास्तवमा सरसफाइ र स्वच्छता कुनै पनि देशको सभ्यतासँग जोडिएको हुन्छ । यस्तो अवस्थामा विश्वको सामु नेपालको छवि र पहिचान कस्तो होला ? गम्भीरतापूर्वक चिन्तन गर्ने विषय हो । महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले मेयरमा निवार्चित भएर आएदेखि फोहोरमैला व्यवस्थापनका लागि प्राथमिकतासाथ पहल गरेको देखिन्थो तर हाल उनको त्यो उत्साह पनि शिथिल भएको भान हुन्छ । 

नेपालको संघीय प्रणालीमा शासकीय व्यवस्थाको प्रभावकारिता संघीय एकाइको सुसम्बन्धमा निर्भर रहन्छ । नेपालको संविधानले समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तमा आधारित संघीय एकाइहरू सञ्चालन हुने कल्पना गरेको छ । त्यसैले संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न र वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक सुनिश्चित गरेको छ । धारा ३५ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ । साथै  संविधानले आधारभूत स्वास्थ्य तथा सरसफाइको अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । 

अर्थात्, संविधानको प्रदत्त अधिकार कार्यान्वयनका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को २ (झ) मा सरसफाइ तथा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा हुने व्यवस्था छ । साथै फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४ मा फोहोरमैलाको प्रबन्ध गर्ने जिम्मेवारी र व्यवस्थापन गर्ने दायित्व स्थानीय तहमा हुने र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति, २०७९ को नियम १२ मा फोहोरमैलाको सङ्कलन, प्रशोधन र विसर्जनलगायत समग्र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा हुन्छ । 

विगत १८ वर्षदेखि काठमाडौँ महानगरपालिकालगायत २३ वटा नगरपालिकाको फोहोर ककनी गाउँपालिकामा विसर्जन हुँदै आएको कुरा विदितै छ र सोबाट स्थानीय अतिप्रभावितलाई स्थानीय स्तरमा रोजगारीको अवसर सृजना गर्ने, फालिएको फोहोरलाई प्रशोधन गरी आयआर्जन गर्न सार्वजनिक निजी साझेदारी (Public Private Partnership) इन्दौर मोडलबाट ककनी गाउँपालिकाले फोहोरमैला व्यवस्थापन तथा प्रशोधनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्छ । 

यस सन्दर्भमा फोहोरमैला व्यवस्थापनमा इन्दौरको मोडललाई अवलम्बन गर्न स्थलगत अवलोकन गरी ककनी गाउँपालिकाका अध्यक्षले नेतृत्वदायी भूमिका खेल्नुपर्छ र त्यसका लागि संघीय सरकार, महानगरलगायतका उपत्यकाका नगरपालिका तथा नागरिकहरूले पनि साथ र सहयोग दिनुपर्छ ।

(स्थलगत अवलोकनका आधारमा)


 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्