site stats
बाह्रखरी :: Baahrakhari
विचार
नेपालमा कपुर उत्पादनको व्यापक संभावना, जिम्मेवारी लिन भने अझै कोही अघि सरेनन्

अंग्रेजीमा 'क्याम्फोर' र वैज्ञानिक नाम 'सिनामोमम क्याम्फोरा' हो कपुरको । पूर्वीएसियाका चीन, ताइवान र कोरियालाई यस प्रजातिको जन्मथलोको रूपमा लिइन्छ ।  यसअन्तर्गत प्रारम्भमा २० प्रजातिका कपुरका रुखहरू एसियाका उष्णकटिबन्धीय तथा गैरउष्णकटिबन्धीय क्षेत्रमा वितरण गरी विस्तार गरिएका थिए । पछि सन् १९२२ मा वैज्ञानिकहरूको टोलीले यसलाई परिमार्जन गरी कपुर समूहमा १८ प्रजातिका रुख समावेश गरेको छ ।

अस्ट्रेलियाले सन् १८२२ मा कपुरलाई ऋङ्गारिक रुखको रूपमा अङ्गीकार गरेको थियो भने सन् १८७५ मा अमेरिकाको फ्लोरिडा, अलावामा, क्यालिफोर्निया, भर्जिनिया, जर्जिया, हवाइ, लौइस्आइना, मिसिसिपी, नर्थ क्यारोलिना, टेक्सास र साउथ क्यारोलिनामा कपुर उत्पादन र ऋङ्गारिक रुखका रूपमा व्यवस्थापन गरिएका थिए ।

सदावहार रहने यो रुखको लमाइ २० मिटर अर्थात् बढीमा ६६ फिटसम्म अग्लो हुन्छ । र यसको हाँगाविँगा गोलाकार रूपमा रहन्छन् । यौटा कपुरको रुखले वर्षको बढीमा एकलाख वटा बीउ उत्पादन गर्छ । चराहरूले यसको बीउ खाई अन्यत्र विष्ट्याउने र कपुरको रुख भएका स्थानमा पनि विरुवा उम्रिने हुनाले यसको विस्तार हुँदै गएको छ । 

रैथाने प्राकृतिक वनस्पतिलाई कपुरको रुखले विनाश गर्ने हुनाले विश्वमा हाल यसतर्फ सचेतना बढ्न थालेको छ । अमेरिकाको फ्लोरिडा विश्वविद्यालयको पशु तथा कृषि विज्ञान प्रतिष्ठान (इफास) ले यसबारे एक अनुसन्धान गरी अमेरिकाको उत्तरी  र मध्यफ्लोरिडा क्षेत्रमा कपुरलाई विनाशकारी प्रजातिको रूपमा सूचीकृत गरेको छ ।

कपुर कसरी बनाइन्छ ?

सामान्यतया कपुरको रुखको बोट नै कपुर उत्पादनको कच्चा पदार्थ हो । नेपालमा कपुरको रुखको कलिलो हाँगाविँगा, डाँठ र पातबाट नै कपुर बनाउने गरिएको छ । विकसित मुलुकमा भने आधुनिक प्रविधिबाट कपुर बनाउन यसको रुखलाई नै पनि प्रयोग गर्ने गरिएको पाइन्छ । बाफ आसवन प्रक्रियाबाट कपुर निकालिन्छ । कपुर बनाउने कच्चा पदार्थ कपुरको रुखको नरम काठ (हाँगा) र पात नै हो । काठ र पातलाई वाष्पीकरण गर्ने भाँडोमा तोकिएको तापक्रममा विद्युत वा दाउराको आगोमा बोइलर प्लान्टमा पकाइन्छ र त्यसबाट प्राप्त हुने रासायनिक तेलबाट पूजाआजामा बाल्ने कपुरको चक्की,  क्रिम, मलम र अनुहारमा दल्ने लोसन बनाइन्छ ।

नेपालमा हालसम्म दुई प्रकारले कपुर उत्पादन गरिएको पाइन्छ । पहिलो परंपरागत तरिकाले तामाको फोसीको तखता तखता भएको भाँडाबाट र अर्को फलामको बोइलर प्लान्ट तथा विदेशबाट आयातित आधुनिक प्लान्टबाट उत्पादन गर्ने गरिएको छ । विश्वमा सबभन्दा चलनचल्तीको प्लान्ट चाँही विद्युतबाट चल्ने आधुनिक बोइलर प्लान्ट नै हो ।

कपुरका फाइदा 

विश्वभर आयुर्वेदिक र एलोप्याथिक औषधि उत्पादक कम्पनीले विभिन्न प्रकारका औषधिमा कपुरको मात्रा मिसाउने गरेका छन् । कपुरबाट शरीरमा दुखाई कम गर्न, जलन वा चिलाउने कम गर्न र छातीमा सुजन भएको बेला प्रयोग गर्ने गरिन्छ । 

कपुरलाई सही तरिकाले प्रयोग गर्दा यसले राम्रै नतीजा दिन्छ भने जथाभावी प्रयोग गर्दा नकारात्मक असर पनि पर्ने जोखिम रहन्छ । यसलाई औषधीय रूपमा बढी मात्रामा प्रयोग गर्न पनि हुँदैन । शरीरको छाला काटेको घाउमा कपुर लगाउँदा विषाक्त बन्न जान्छ । यसको चर्को गन्ध र स्वादका कारण मानवको छालाले यसलाई सजिलै अवशोषित गर्छ । कपुरको बास्नाका कारण यसको रुख भएको स्थानबाट किटाणु भाग्छ । यसको रुख भएको क्षेत्रका हावा वा वायुमण्डललाई निर्मलीकरण गर्नसमेत कपुरले सहयोग गर्छ । 

आध्यात्मिक प्रयोगमा कपुर 

आध्यात्मिक अभियन्ता पं. कुवेर सुवेदीले धार्मिक दृष्टिकोणले कपुरको महत्त्व र यसका सकारात्मक प्रभाव बारे उल्लेख गर्नुभएको छ । विभिन्न जीवाणु र विषाणु हटाउन यसबाट सहयोग पुग्नुका साथै घरमा कपुर बाल्नाले पितृदोष, देवदोष, स्वप्न दोष, अन्य दोष हट्छ र शान्ति प्राप्त हुन्छ भन्ने उहाँको भनाइ छ ।

पूजापाठमा देवस्थान, शिवालय तथा मठमन्दिरमा कपुर बाल्ने चलन निकै पुरानै हो । माटाको पाला वा पित्तल वा तामाको दियोमा कपुर बाल्ने चलन छ । कुनै मन्दिरमा जाँदा अरू पूजाका सामान नभए कपुरमात्रै जलाए पनि धर्म हुन्छ भन्ने मान्यता छ । कपुरको धुवाँ आआखीझ्याल भए राम्रोसँग बाहिर जान्छ । यसरी हेर्दा पूजाकोठामा आँखीझ्याल राख्ने पूर्वजहरूको चलन पूर्ण वैज्ञानिक देखिन्छ । मन शान्त बनाउन, जीवाणु, रोगाणु हटाउन कपुरको ज्वालाले सहयोग गर्छ भन्ने मानिन्छ ।

कपुर बाल्ने घरको वातावरण राम्रो हुन्छ । बिहानको पूजा र सायंकालको आरतीमा कपुर बाल्दा राम्रो,  सो समयमा नबाले  सोमबार, शुक्रवार र एकादशीका दिन कपुर बाल्नाले घरको वातावरण सकारात्मक हुँदै जान्छ । पतिपत्नीबीचको दाम्पत्य सम्बन्ध राम्रो हुन्छ । निराशा हटाउन सहयोग गर्छ । हवन र पूजामा कपुर प्रयोग हुने गरेको छ ।

अर्का एक आध्यात्मिक अभियन्ताका अनुसार कपुर बाल्नाले घरको नकारात्मक ऊर्जा सकारात्मक ऊर्जामा परिणत हुन्छ । कपुर सुगन्धयुक्त हुनाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ । घरको कुनै पनि कुनामा कपुर त्यतिकै राखिदिएमा सुगन्ध प्राप्त भैरहन्छ । जहाँ सुगन्ध हुन्छ, त्यहाँ लक्ष्मी माता सदा खुसी हुन्छिन् ।  आर्थिक संकट वा समस्या आइरहे घरको चारैदिशामा कपुर राखिदिनाले सो हल हुन्छ भन्ने परम्परागत मान्यता छ । कुनै पनि काममा वाधा, व्यवधान, दुःख वा समस्या आइरहे बुधवारका दिन बिहानै कपुर ज्वलन गर्दा ती समस्याबाट पार पाइने उहाँको कथन छ ।

ललितपुर कपुरमय 

कपुर उत्पादन गर्न आवश्यक साधन वा स्रोत कपुरको रुखको नरम काठ र पात नै भएको पहिले नै उल्लेख गरिसकियो । ललितपुर महानगरपालिका क्षेत्रका विभिन्न वडा छुने चक्रपथ र सोले छुने सहायक सडकहरूमा सौन्दर्यका लागि लगाइएका कपुरका रुखहरू कपुर उत्पादन गर्ने कच्चापदार्थका रूपमा उपलब्ध छन् । ठूलो संख्यामा लगाइएका यी कपुरका रुखबाट चक्रपथ र नगरपालिकाका भित्री सडक क्षेत्रमा रहेका बिजुलीका खम्बालाई प्रत्यक्ष असर पुग्ने हुनाले समयसमयमा यिनको कटानी गरिरहनु पर्ने हुनजान्छ । कटानी गरेपछि त्यतिकै विनामूल्य फालिने कपुरका ती नरम हाँगाबिँगा कपुर उत्पादनका कच्चा पदार्थ हुन् । 

कपुरमयमा एनसेलको भूमिका स्तुत्य

पछिल्लो समय विश्वभर नाफा कमाउने सरकारी, गैरसरकारी वा निजी संस्था वा बैंक वा वित्तीय संस्थाले आफ्नो संस्थाको वार्षिक आम्दानीको निश्चित अंश स्थानीय सामुदायिक तथा सामाजिक विकासका विभिन्न काममा खर्च गर्नेगरेका छन् । यसलाई 'संस्थागत सामाजिक उत्तरदायित्व' वा अंग्रेजीमा 'कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी' अर्थात् छोटकरीमा 'सीएसआर'  नामाकरण गरिएको छ । 

एनसेल नेपालमा सार्वनजनिक क्षेत्रको दूरसञ्चार कम्पनीपछि निजी क्षेत्रबाट आएको दोस्रो मोबाइल सेवा प्रदायक कम्पनी हो । अप्रिल १३, २०१४ मा स्थापित यस कम्पनीले आफ्नो 'सीएसआर' कार्यक्रमअन्तर्गत नेपालका विभिन्न समुदायको सामाजिक विकासलाई लक्षित गरी अनेकौं सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । आफ्नो स्थापनाकालदेखि नै यस संस्थाले १ अर्ब ६५ करोड नेपाली रुपैया सामाजिक परियोजनामा खर्च गरी देशको सामाजिक आर्थिक विकास एवं सरकारको सहस्राब्धि दीगो विकासको लक्ष्यमा टेवा दिएको छ । यसमा एनसेलले नेपालमा मुख्यतः स्वास्थ्य, शिक्षा तथा वातावरण क्षेत्रलाई सामाजिक उत्तरदायित्वको कार्यक्षेत्र बनाएको छ ।

'चक्रपथ हरियाली क्षेत्र परियोजना' का लागि नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा एनसेलले काठमाडौंको कलंकीदेखि टेकु, सानेपा हुँदै कोटेश्वरसम्मको चक्रपथका दाँयाबाँया १०.२ किलोमिटर सडक क्षेत्रमा बागवानी विकास वा 'हरियाली भूनिर्माण' का साथै हरियाली र सौन्दर्यीकरणका लागि कपुर विरुवा रोपण कार्यलाई पहिलो प्राथमिकता दिएको छ । चक्रपथ क्षेत्रमा अन्य विभिन्न जातका विरुवा पनि रोपिएका छन् । लेखकले स्थलगत अवलोकनका क्रममा तरकारीमा प्रयोग हुने तेजपातका विरुवा पनि राम्रै हुर्किसकेको  अवस्थामा पायो । 

ती रुख विरुवाको संरक्षणका लागि एउटा समझदारीपत्रमा वन तथा वातावरण मन्त्रालयसँग हस्ताक्षर गरी यो कार्य अघि बढाइएको थियो । परियोजना सुरु भएको झण्डै पाँच वर्षको अन्तरालमा अहिले ती क्षेत्रमा हरियाली ढकमक्क हुनुका साथै ती क्षेत्रको सौन्दर्य विदेशको भन्दा कम नभएको डच नागरिक एवं नेपालमा उद्यमशीलता क्षेत्रमा कामगरिरहेकी श्रीमती अनुक भर्सटिगले बताउनुभयो । उहाँले भन्नुभयो - म एक दशकभन्दा अघिदेखि ललितपुरको झंसीखेल क्षेत्रमा बस्दै आएको छु र उजाड रहेको काठमाडौंको कुल २७ किलोमिटर रिंगरोडको झन्डै १० किलोमिटर क्षेत्र पाँचवर्ष यता सबैलाई मन्त्रमुग्ध पार्ने गरी हराभरा देखिएको छ । यस दृश्यबाट जो कोही मन्त्रमुग्ध नभई रहन सक्दैन् ।

लपुमनपा क्षेत्रमा कपुरका रुख 

लपु बल्खुपूलको पूर्वको मुखबाट सुरु भई चक्रपथको दायाँबाँया हुँदै ललितपुरको ठाडो ढुङ्गाबाट चक्रपथ भेट्ने मुखसम्म २०५, लपु ठाडो ढुंगाबाट पश्चिम रिंगरोडदेखि चक्रपथको दक्षिण आकाशे पूलसम्म देब्रेतिर ४६, लपु ठाडो ढुंगा ओरालोको रिंगरोडको मुखैबाट दक्षिण फर्किदा देब्रेपट्टि १४३, लपु भनिमण्डलबाट रिंगरोड भेट्ने चक्रपथको आकाशे पूल दाँयासम्म ६१, लपु भनिमण्डलको आकाशे पूलको दाहिने दक्षिण ८७, लपु भनिमण्डलको आकाशे पूलको देब्रेहुँदै दक्षिण ५१, लपु भनिमण्डल ओरालोबाट उत्तर धोबीघाट सरस्वती मन्दिर १५१, धोबीघाट सरस्वती मन्दिरसम्म १५, झंसीखेल गणेशस्थान पश्चिम ६ र लपु कोपुन्डोलदेखि पुलचोक आकाशे पुलसम्म १५४ गरी जम्मा ९१९ कपुरका रुख हराभरा र हुर्किसकेको अवस्थामा छन् । 

लपुमनपाको पहल 

यसरी कपुरका रुखले चक्रपथका १० किलोमिटर क्षेत्र ढकमक्क र हरियाली भएकै छ । अब कालान्तरसम्म ती रुखको संरक्षण गर्ने अभिभारा पनि लपुमनपाकै हुनजान्छ । यत्रो विशाल हरियाली दिएको कपुर रुखहरूबाट कपुर उत्पादनका लागि ललितपुर महानगरपालिकाले पहल गर्नुपर्ने हो । यस परियोजनालाई लपुमनपाले अगाडि बढाउँदा कपुरको रुख सदाबहार हुने भएकाले स्थानीय वडा कार्यालय स्वयंका लागि आर्थिक उपार्जनको दीर्घकालीन माध्यम बन्नसक्ने पंक्तिकारको धारणा छ ।

अब ती कपुरका रुख हुर्कने क्रममा छन् । तिनलाई समयमै कटानी गरी व्यवस्थापन गर्नु महानगरपालिका क्षेत्रभित्रका विभिन्न वडाको दायित्व पनि हो । हाल लपुमनपाले आफ्ना २९ वटै वडामा विभिन्न सीपमूलक तालीम सञ्चालन गरी सानै रूपमा भए पनि आर्थिक उपार्जनका लागि विभिन्न काम गरिरहेको छ । यसका अतिरिक्त लपुमनपाले स्वयं आफ्नै व्यवस्थापनमा कपुर उत्पादन गर्ने एउटा नव परियोजन तुरुन्त प्रारम्भ गर्नुपर्ने विषयमा ललितपुर महानगरपालिकाका वर्तमान मेयर चिरीबाबु महर्जनलाई जानकारी गराउँदा पनि उहाँले आँट गरिरहनु भएको छैन । ललितपुरका वडा कार्यालयले यो कपुर उत्पादन परियोजना प्रारम्भ गरेको खण्डमा वार्षिक रूपमा  विदेशबाट नेपाल आउने तयारी कपुरलाई केही हदसम्म प्रतिस्थापन गर्न सकिन्छ । 

साथै यसबाट नगरपालिका क्षेत्रका धेरै बासिन्दालाई रोजगारीको अवसर समेत प्राप्त हुन सक्छ । त्यतिमात्र होइन, कपुर विक्रीको आम्दानीबाट नगरपालिका र वडा कार्यालयहरूको संयोजनमा ललितपुर क्षेत्रका अन्य स्थानमा हरियाली विकासका लागि सघाउसमेत पुग्न सक्छ । 

यो परियोजना सञ्चालन गर्न ललितपुर महानगरपालिकाले थप बजेटको व्यवस्थापन गर्नु पनि पर्दैन । हरियाली विकास तथा संरक्षणका लागि प्रतिबद्ध एनसेलसँग संयोजन गरी अघि बढे सहजै सो परियोजना लपुमनपाले नै सञ्चालन गर्ने गरी सहयोग प्राप्त गर्न सक्ने कुरामा सन्देह रहन्न । कपुरको रुखबाटै कपुर उत्पादन गर्न आवश्यक पर्ने आधुनिक बोइलर मेसिन र सम्बन्धित सरसामान एनसेलको सीएसआर कार्यक्रमअन्तर्गत प्राप्त गर्न सकिने सम्भावना छ । 

यसका लागि आवश्यक सामानमा रुख काट्न प्रयोग हुने भरेङ जडित एउटा सानो पिकअप भ्यान, रुख काट्ने आधुनिक विद्युतीय मेसिन हो । साथै प्लान्ट स्थापना र सञ्चालनका लागि आवश्यक पर्ने स्थान र कपुर उत्पादनका कच्चा पदार्थ अर्थात् रुखका हाँगाबिगा भण्डारणको व्यवस्था हो । यति लपुमनपाले आफ्नै आर्थिक स्रोतबाट व्यवस्था गर्नुपर्ने देखिन्छ । 

प्रस्तावित परियोजनालाई लपुमनपाले कार्यान्वयनमा लग्न सकेन भने लपुमनपाले देशका निजी क्षेत्रका अन्य साझेदारी कम्पनीहरू उदाहरणका लागि 'डाबर नेपाल' वा निजी क्षेत्रका यस्तै अन्य कम्पनीसँगको सहकार्यमा पनि यो उद्योग सञ्चालन गर्नेतर्फ आवश्यक पहल गर्नुपर्ने देखिन्छ । ललितपुर महानगरपालिकाले यस कपुर उद्योगलाई नमुना परियोजनाका रुपमा अगाडि बढाउन सक्यो भने भविष्यमा आर्थिक स्तम्भका रूपमा देशका अन्य नगरपालिका क्षेत्रमा समेत विस्तार गर्न सकिनेछ ।

(मिडिया प्वाइन्टका कार्यक्रम निर्देशक) 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्