site stats
बाह्रखरी :: Baahrakhari
विचार
अमेरिकी ‘सफ्ट पावर’को भविष्य

शक्ति भनेको अरूलाई आफूले चाहेको गराउन सक्ने क्षमता हो । त्यो दबाब (तर्साएर), नगद भुक्तानी (फकाएर) र आकर्षण (लोभ्याएर) बाट हासिल गर्न सकिन्छ। पहिलो दुई विधि कठोर शक्तिका रूप हुन् भने आकर्षण भद्र शक्ति (सफ्ट पावर) हो । भद्र शक्ति देशको संस्कृति, राजनीतिक मूल्यमान्यता र विदेश नीतिबाट उत्पन्न हुन्छ । छोटो अवधिमा, कठोर शक्तिले प्रायः भद्र शक्तिलाई जित्छ भने लामो अवधिमा भद्र शक्ति अक्सर बलशाली हुन्छ । जोसेफ स्टालिनले एक पटक उपहास गर्दै सोधेका थिए - "पोपसँग कतिवटा डिभिजन (पल्टन)  छन्?" तर पोपको पद आजसम्म कायम छ भने स्टालिनको सोभियत संघको धेरैअघि पतन भइसकेको छ।

तपाईँमा आकर्षण भए लोभ्याउने (गाजर) वा तर्साउने कमै गरे हुन्छ। मित्रहरूले तपाईँलाई शालीन र विश्वासयोग्य ठाने भने, तिनीहरू तपाईँको कुरा मान्न बढी खुला हुन्छन् र तपाईंको अनुसरण गर्ने सम्भावना हुन्छ। तिनले तपाईँलाई अविश्वसनीय र हुल्याहा ठाने भने तिनीहरूले खुट्टा तान्न र सकेसम्म तपाईँको भर कमै पर्ने सम्भावना हुन्छ । शीत युद्धको युरोप एउटा राम्रो उदाहरण हो । एकजना नर्वेजियन इतिहासकारले युरोपलाई सोभियत र अमेरिकी साम्राज्यमा विभाजित भएको वर्णन गरे । तर त्यहाँ एउटा महत्त्वपूर्ण भिन्नता थियो - अमेरिकी पक्ष "निमन्त्रणाद्वारा बनेको साम्राज्य" थियो । सोभियतहरूले १९५६ मा बुडापेस्ट र १९६८ मा प्रागमा सेना तैनाथ गरेपछि यो यो स्पष्ट भयो । यसविपरित नेटोले आफ्नो अस्तित्व त कायम राख्यो नै स्वेच्छाले सदस्यता समेत बढायो।

शक्तिको सही बुझाइमा यसका कठोर र नरम दुवै पक्षहरू समावेश हुनुपर्छ। म्याकियाभेलीले भनेका थिए - राजकुमारको लागि माया गरिनुभन्दा थर्कमान गराउनु राम्रो हो तर दुवै हुनु उत्तम हो । किनभने भद्र शक्ति आफैँमा बिरलै पर्याप्त हुन्छ र यसको प्रभाव महसुस गर्न पनि लामो समय लाग्छ । राजनीतिक नेताहरू अक्सर दबाब वा लोभको कठोर शक्ति प्रयोग गर्न लालयित हुन्छन् । तर एक्लै प्रयोग गर्दा कठोर शक्तिले आकर्षणको नरम शक्तिसँग मिलाउँदाभन्दा बढी मूल्य चुकाउनुपर्ने हुन सक्छ। बर्लिन पर्खाल तोपखानाको वर्षाले ढलेन ।  यो त कम्युनिज्ममा विश्वास गुमाएका र पश्चिमी मूल्यमान्यताहरूप्रति आकर्षित मानिसहरूले चलाएको हथौडा र बुलडोजरबाट ढालिएको थियो ।

दोस्रो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिका सबैभन्दा शक्तिशाली देश थियो र यसले "उदार अन्तर्राष्ट्रिय व्यवस्था" भनेर संयुक्त राष्ट्र संघ, ब्रेटन वुड्स आर्थिक संस्थाहरू, र अन्य बहुपक्षीय निकायहरूजस्ता आफ्ना मूल्यमान्यता स्थापित गर्ने प्रयास गर्‍यो । पक्कै पनि, अमेरिकाले सधैँ आफ्ना उदार मूल्यमान्यताहरूमा  सीमित रहेन र शीतयुद्धको द्विध्रुवीयताले यो व्यवस्थालाई विश्वको आधा जनसंख्यामा मात्र सीमित गर्‍यो । तर जर्मनी नेतृत्वको शक्तिले दोस्रो विश्वयुद्ध जितेको भए र आफ्ना मूल्यमान्यता थोपर्न पाएको भए युद्धपछिको व्यवस्था पक्कै पनि धेरै फरक देखिने थियो ।

उनीभन्दा अघिल्ला अमेरिकी राष्ट्रपतिहरूले पनि उदार व्यवस्थाका आयामहरू उल्लङ्घन त गरेका थिए तर विदेश नीतिमा सफ्ट पावरको कुनै मूल्य छैन भन्ने विचार राख्ने पहिलो व्यक्ति डोनाल्ड ट्रम्प हुन् । पदमा फर्कनेबित्तिकै उनले गरेका पहिलो कार्यहरूमध्ये जलवायु परिवर्तन र महामारीले खडा गरेको स्पष्ट खतराहरूको हुँदाहुँदै पनि पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई बाहिर फर्काउनु थियो ।

अमेरिकी प्रशासनले यसरी सफ्ट पावर त्याग्दाका प्रभावहरू पनि सजिलै अनुमान गर्न सकिन्छ । डेनमार्क वा क्यानाडाजस्ता लोकतान्त्रिक सहयोगीहरूलाई दबाब दिँदा हाम्रा गठबन्धनमाथिको विश्वास कमजोर हुन्छ । पानामालाई धम्की दिँदा ल्याटिन अमेरिकाभरी साम्राज्यवादको डर फेरि जागृत हुन्छ । राष्ट्रपति जोन एफ केनेडीले १९६१ मा स्थापना गरेको अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआईडी) लाई कमजोर पार्दा हाम्रो सहयोगी प्रतिष्ठा कमजोर हुन्छ । भ्वाइस अफ अमेरिकालाई मौन बनाउनु अधिनायकवादी प्रतिद्वन्द्वीहरूका लागि उपहार हो । मित्रहरूमाथि कर लगाउँदा हामी अविश्वसनीय देखिन्छौँ । घरमै अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयास गर्दा हाम्रो साख कमजोर हुन्छ। यो सूची लामो हुन सक्छ ।

ट्रम्पले चीनलाई अमेरिकाको ठूलो चुनौतीको रूपमा परिभाषित गरेका छन् भने अर्को तिर चीनले २००७ मा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले चिनियाँ कम्युनिस्ट पार्टीमा देशले आफूलाई अरूको लागि थप आकर्षक बनाउन आवश्यक छ भनेदेखि नै भद्र शक्तिमा लगानी गरिरहेको छ । तैपनि चीनले यस सन्दर्भमा लामो समयदेखि दुई प्रमुख अवरोधहरूको सामना गरिरहेको छ - पहिलो, यसले धेरै छिमेकीहरूसँग क्षेत्रीय विवाद कायम राखेको छ। दोस्रो, चिनियाँ कम्युनिस्ट पार्टीले नागरिक समाजमाथि कडा नियन्त्रण कायम राख्न जोड दिन्छ । त्यस्ता नीतिहरूको मूल्य विश्वभरका मानिसहरूलाई कुन देशहरू आकर्षक लाग्छ भनेर सोधिने जनमत संकलनबाट पुष्टि गरिएको हुन्छ । ट्रम्पले अमेरिकी भद्र शक्तिलाई कमजोर पार्न जारी राखे भने यी सर्वेक्षणहरूले आगामी वर्षहरूमा के देखाउनेछन् भनेर अनुमानमात्र गर्न सकिन्छ ।

पक्कै पनि अमेरिकी भद्र शक्तिमा वर्षौंदेखि उतारचढाव आएको छ । भियतनाम र इराक युद्धको समयमा अमेरिका धेरै देशहरूमा अलोकप्रिय थियो । तर, सरकारका कामका साथै देशको समाज र संस्कृतिबाट पनि भद्र शक्ति उत्पन्न हुन्छ । भियतनाम युद्धको समयमा विश्वभरका सडकहरूमा अमेरिकी नीतिको विरोधमा प्रदर्शन भइरहँदा तिनले अमेरिकी नागरिक अधिकारको गित  "वी स्याल ओभरकम" गाउने गर्थे । विरोधलाई अनुमति दिने खुला समाज भद्र शक्तिको सम्पत्ति हुन सक्छ । तर आगामी चार वर्षमा सरकारको ‘सफ्ट पावर’मा यसरी नै खस्कने क्रम जारी रहे अमेरिकाको सांस्कृतिक भद्र शक्ति जीवित रहन सक्ला?

अमेरिकी लोकतन्त्र ट्रम्पको कार्यकाल अर्थात् चार वर्ष पक्कै टिक्नेछ। देशसँग खुकुलो राजनीतिक संस्कृति र शक्तिको नियन्त्रण र सन्तुलनलाई प्रोत्साहन गर्ने संघीय संविधान छ । सन् २०२६ को चुनावमा डेमोक्र्याटहरूले संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको नियन्त्रण पुनः प्राप्त गर्ने उचित सम्भावना पनि छ। यसबाहेक, नागरिक समाज बलियो छ र अदालतहरू स्वतन्त्र छन् । धेरै संगठनहरूले ट्रम्पका कार्यहरूलाई चुनौती दिन मुद्दा दायर गरेका छन् भने बजारले ट्रम्पको आर्थिक नीतिहरूप्रति असन्तुष्टि जनाएको छ ।

भियतनाम र इराक युद्धमा आएको गिरावट र ट्रम्पको पहिलो कार्यकालमा खस्केपछि पनि अमेरिकी सफ्ट पावर पुनःस्थापित भयो । यद्यपि, एकपटक विश्वास गुमेपछि यो सजिलै पुनर्स्थापित भने हुँदैन । युक्रेनमाथिको आक्रमणपछि रुसले त आफ्नो धेरैजसो भद्र शक्ति गुमायो तर ट्रम्पले सिर्जना गरेको कुनै पनि खाली ठाउँ पूरा गर्न चीन तम्तयार छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले भनेजस्तै पूर्वको उदय हुँदैछ पश्चिमका तुलना । ट्रम्पले अमेरिकी सहयोगीहरूबीचको विश्वास कमजोर पार्दै, साम्राज्यवादी आकांक्षा व्यक्त गर्दै, युएसएआडीलाई नष्ट गर्दै, भ्वाइस अफ अमेरिकालाई मौन बनाउँदै, घरेलु कानुनलाई चुनौती दिँदै र संयुक्त राष्ट्र संघका एजेन्सीहरूबाट फिर्ता हुँदै चीनसँग प्रतिस्पर्धा गर्न सक्छु भन्ने सोच्छन् भने उनी सफल हुने सम्भावना छैन । उनले नष्ट गरेको कुरा पुनर्स्थापित गर्न असम्भव त हुनेछैन तर यसको मूल्य निकै महँगो हुनेछ।

(हार्वर्ड केनेडी स्कुलका डिन, अमेरिकी पूर्वसहायक रक्षामन्त्री तथा अ लाइफ इन द अमेरिकन सेन्चुरी ,२०२४(संस्मरण) का लेखक न्येको मे ६, १९२५ मा मृत्यु भयो  )
Copyright: Project Syndicate, 2025.

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्