site stats
बाह्रखरी :: Baahrakhari
देश
धौलीगंगा बाँध खोलिने, महाकाली किनारमा नजान आग्रह
महाकाली नदी । फाइल तस्बिर ।

बैतडी । महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

बर्सातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोलिने धौलीगंगा पावर स्टेसन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनले भने, “बर्सातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रतिदिन वृद्धि हुँदै गएकाले जुनसुकै बेला पनि बाँधका ढोका खोलिने जानकारी आएको छ । त्यसैले महाकाली नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छौँ ।”

लगातारको वर्षा र बाँध खोलिएपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना बढी भएकाले नदी आसपासका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न आग्रह गरिएको उनले बताए ।

दार्चुलादेखि बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले पनि अनुरोध गरेको छ ।

धौलीगंगा जलविद्युत् परियोजनाको बाँध बर्सातका बेला हरेक वर्ष खोल्ने गरिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ ।

वि.सं. २०७० असार २ र ३ गते एक्कासि धौलीगंगाको बाँध खोलिँदा दार्चुला सदरमुकामका १०० भन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो । रासस

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्