
काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले शनिबार नेपालमा आएर प्रस्तुति दिइन् । ठूलो संख्यामा रहेका नेपाली दर्शक तथा सुभेच्छुक उनको प्रस्तुति हेर्न तारागाउँस्थित ह्यात चौरमा पुगेका थिए ।
‘नोरा फतेही लाइभ इन नेपाल’ नाम दिइएको कार्यक्रममा आमदर्शकसँगै ठूलो संख्यामा नेपाली कलाकार पनि पुगेका थिए । गौरव सिटौलालाई बोलाएर उनले सँगै गरेको डान्स पनि उत्तिकै चर्चा पायो ।
आयोजक स्रोतका अनुसार, उनलाई एक करोड १० लाख भारु (एक करोड ७६ लाख रुपैयाँ)मा नेपाल ल्याइएको हो । “नोरालाई हामीले जम्मा एक करोड १० लाख रुपैयाँ आईसी पारिश्रमिक दिएका हौँ,” स्रोतले भन्यो, “कार्यक्रमको उद्देश्य सामाजिक संस्थालाई सहयोग गर्ने भएकाले यति पारिश्रमिकमा ल्याउन सकिएको हो । अन्यथा, यतिमा उहाँलाई ल्याउन सकिँदैन थियो ।”
आयोजकका अनुसार, शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका निम्ति फतेहीलाई नेपाल ल्याइएको हो ।
“सामाजिक संस्थाका लागि त राम्रा भयो नै नेपालको टुरिजममा पनि यसले ठूलो भूमिका खेल्यो भन्ने लाग्छ,” वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रालिका मनीष कार्कीले बाह्रखरीसँग भने, “इन्टरनेसनल मिडियाले नेपालमा नोराले दिएको प्रस्तुतिबारे राम्रो कभरेज गरेका छन् । भारतका ठूला मिडियाले नै स्पेस दिँदा टुरिजममा पनि यसको प्रभाव पर्छ ।”
नोरासँगै उनको नृत्य टोलीमा रहेका २३ सदस्य पनि नेपाल आएका थिए । उक्त इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको थियो ।
अभिनेत्री फतेहीका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’लगायत गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।
नोराले प्रस्तुति दिएको कार्यक्रममा गायक दुर्गेश थापा, नृत्यांगना तेरिया फौजामगर, नृत्यकार समर्पण लामालगायत नेपाली कलाकारले प्रस्तुति दिएका थिए ।