
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले २१ लाख ६३ हजार ८६५ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्यिारले मुद्दा दायर गरेका अन्यमा बाँफिकोट गाउँपालिकाका प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा, पिपलकाँडा मेलगैरी सडक आयोजनाको निर्माण कार्य गर्ने कम्पनी मालिका बस्नेत निर्माण सेवा र उक्त कम्पनीका प्रोपाइटर शान्तबहादुर बस्नेत छन् ।
दायर गरिएको मुद्दामा प्रत्येकसँग २१ लाख ६३ हजार ८६५ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
बाँफिकोट गाउँपालिका वडा नं. २ मा पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा उनीहरूले निर्धारित मापदण्डविपरीत निर्माण कार्य गरी २१ लाख ६३ हजार ८६५ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।