site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा मानवीय सहयोग वितरण भएन : राष्ट्रसंघ

काठमाडौं । संयुक्त राष्ट्रसंघले ११ हप्ताको नाकाबन्दीपछि गाजामा अहिलेसम्म कुनै सहयोग सामग्री वितरण नभएको जनाएको छ । सामग्री बोकेका ट्रकहरू सीमानजिक पुगे पनि सहयोग वितरण्न नभएको उसको भनाइ छ । तर, इजरायलमाथि मानवीय सहयोग सहजीकरण गर्न अन्तर्राष्ट्रिय दबाब बढेको बीबीसीले जनाएको छ ।

इजरायली अधिकारीहरूले मंगलबार ९३ वटा ट्रक गाजा प्रवेश गरेको बताए । सहयोग सामग्री बोकेका ट्रकहरूमा पिठो, शिशु आहार, चिकित्सा उपकरण र औषधि समावेश थिए ।

तर, संयुक्त राष्ट्रसंघले केरम शालोम सीमाको प्यालेस्टिनी भू–भागमा ट्रकहरू पुगे पनि अहिलेसम्म कुनै सहयोग वितरण नभएको जनाएको हो ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले इजरायलले उनीहरूको एक टोलीलाई सो क्षेत्रमा जाने अनुमति नदिएर धेरै घण्टा पर्खाएको र उक्त सामग्री आफ्नो गोदाममा ल्याउन नदिएको बताए ।

इजरायलले आइतबार गाजामा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न अनुमति दिने सहमति जनाएको थियो । अन्तर्राष्ट्रिय मानवीय सहायता विज्ञहरूले गाजामा भोकमरीको खतरा आएको बताइसकेका छन् । यसकारण इजरायलमा अन्तर्राष्ट्रिय दबाब निरन्तर बढ्दै छ ।

यसैबीच ब्रिटेनले गाजामा इजरायलको अनैतिक र अन्यायपूर्ण सैन्य आक्रमण गरेको भन्दै इजरायलसँगको व्यापार वार्ता स्थगित गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री सर किएर स्टार्मरले यो अवस्थलाई असह्य कदम भएको बताए ।

यसैगरी युरोपेली संघ (ईयू)की विदेश प्रमुख काजा काल्लासले गाजामा इजरायलको रवैयालाई मध्यनजर राखी इजरायलसँगको व्यापार सम्झौताको समीक्षा गर्ने बताएकी छन् ।

डुजारिकले इजरायलले संयुक्त राष्ट्रसंघलाई केरम शालोम प्यालेस्टिनको सीमामा सामग्री उतार्न र सुरक्षा चेकपछि पुनः गाडीमा लोड गर्न आग्रह गरेका कारण सहायता अपरेसन जटिल बनेको बताए ।

उनले सामग्री आउनु सकारात्मक विकास भए पनि यसको आवश्यकतालाई हेर्दा समुद्रमा एक थोपा पानी हालेको जस्तै भएको बताए । 

संयुक्त राष्ट्रका निकायले गाजाको दीर्घकालीन मानवीय संकट समाधान गर्न दैनिक ६०० ट्रक सहयोग आवश्यक रहेको अनुमान गरेका छन् ।

यसअघि संयुक्त राष्ट्रका मानवीय सहयोग प्रमुख टम फ्लेचरले बीबीसीलाई इजरायलले तत्काल सहयोग पुर्‍याउन अनुमति नदिए गाजामा ४८ घण्टाभित्र हजारौँ शिशुहरूको मृत्यु हुन सक्ने बताएका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्