
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको षड्यन्त्रका कारण आफूविरुद्ध अविश्वास प्रस्ताव लागेको लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै गुरुङले अविश्वास प्रस्ताव प्रक्रिया नै गलत भएको जनाए । यस्तै, उनले अध्यक्ष चन्दले नियोजित रूपमा प्रस्ताव ल्याएको आरोप लगाउँदै यही प्रक्रियामा क्यान नेतृत्व अगाडि बढे कानुनी बाटो खोज्ने बताएका छन् ।
“मविरुद्ध जिल्लाले अविश्वास गरेको छैन । जिल्लाका साथीहरू निरन्तर सम्पर्कमा छन् । तर, केन्द्रले नै षड्यन्त्र गर्न थाल्यो,” गुरुङले भने, “केन्द्रका अध्यक्ष नै जिल्ला जिल्ला पुगेर, घर घरमा पुगेर जबरर्जस्ती हस्ताक्षर गरेको थाहा पाए । त्यतिले नपुगेर ‘म्यासेन्जर’बाटै हस्ताक्षर मगाएको पनि पत्ता लागेको छ ।”
गुरुङ २०८० मा लुम्बिनी प्रदेश क्रिकेट संघमा निर्वाचित भएका थिए । उनको कार्यकाल २०८४ सम्म छ । हाल उनी लुम्बिनीको अध्यक्ष हुन् भने दुई दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अम्पायर भूमिकामा छन् ।
गुरुङमाथि २०८० चैत २२ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । सात जिल्लाका दुईतिहाइ बढीले हस्ताक्षर गर्दै लुम्बिनी उपाध्यक्ष विनयराज भण्डारीलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । यसपछि क्यान नेतृत्वले बिनाबैठक निलम्बन गरेको गुरुङको आरोप छ ।
उपाध्यक्ष भण्डारीले पनि प्रदेशमा साधारणसभा बोलाउनु पर्नेमा सिधै क्यानलाई अविश्वास प्रस्ताव बुझाएका थिए । सोही कारण क्यानले ३ जेठ (शनिबार) विशेष साधारणसभा बोलाएको छ । अध्यक्ष चन्दले स्वार्थअनुकूल विशेष साधारणसभा बोलाएको भन्दै गुरुङले त्यसलाई रोक्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा उजुरी हालेका छन् । यता, हस्तक्षेप कायम रहे नेपाली क्रिकेट सन् २०१४ कै अवस्थामा पुग्ने गुरुङले दाबी गरेका छन् । गुरुङ आफ्नो अम्पायरिङ पेसा धरापमा परे पनि क्यानको यो बेतिथि भण्डाफोर गरेरै छाड्ने बताएका छन् ।